• Lumbini 24 शुक्रबार, पुस २४, २०७७
  • जङ्गबहादुर र अर्घाखाँची : जन्मको नाता

    यति धेरै कुरा लेखिसकेपछि राजा र राजदरबारका सबै शक्तिलाई क्षीण बनाएर १०४ वर्षसम्म नेपालको शासनसत्ता चलाउन सफल राणशाहीको जग हाल्ने जङ्गबहादुर को थिए त ? भन्ने प्रश्न गरिनु स्वाभाविक ठहर्ला । यो प्रश्नको जवाफमा पनि अर्घाखाँचीको नाम जोडिन आउँछ ।
    तत्कालीन नेपाल सरकारका एक जर्नेल थिए जसको नाम बालनरसिंह कुँवर थियो । राजा रणबहादुर शाहलाई तरबार प्रहार गरी हत्या गर्ने शेरबहादुर शाहलाई तत्क्षण काटेर मार्ने यिनै बालनरसिंह थिए ।
    अध्येता नारायण भट्टराईका अनुसार कुनै समय प्यूठान बारुदखानाको जिम्मेवारी सम्हालीसकेका बालनरसिंह कुँवरलाई वि. सं. १८६९ मा जुम्लाको गुठी सम्बन्धी विवाद समाधान गर्न भनी पठाइएको थियो । जुम्लामा लामो समय बस्नुपर्ने देखेर कुँवरले आफ्नी कान्छी श्रीमती गणेशकुमारीलाई पनि साथै लिएर गएका थिए । समयक्रममा कजिनी गणेशकुमारी गर्भवती भइन् । बालनरसिंहले गर्भवती श्रीमतीलाई सुरक्षाका साथ काठमाडौं पठाए । यातायातको सुविधा नभएको त्यस समय अर्घाखाँचीको मथुरा भन्ने स्थानमा आइपुग्दा सात महिनाकी गर्भवती गणेशकुमारीले बालक जन्माइन् । पौवामा लगेर राखेपछि ती बालकको न्वारान गर्ने काम भयो ।
    अहिले मथुरा सन्धिखर्क नगरपालिका र बलकोट पौवाचाहिँ छत्रदेव गाउँपालिकामा पर्दछ ।
    बीच बाटामै जन्मिएका ती बालकलाई त्यहीँका खनाल थरका ब्राह्मणहरूले वीरनरसिंह नाम राखिदिएका थिए ।

    वि. सं. १८७४ मा सात महिनामा जन्मिएका यिनै वीरनरसिंह कुँवर कालान्तरमा जङ्गबहादुर राणाका नामले चिनिए र नेपालको राजनीतिक इतिहासमै उल्लेखनीय प्रभाव पारे । तर, उनको जन्मको विषयलाई लिएर इतिहासकारका बीचमा केही मतान्तर पनि रहेका छन् । केहीले उनको जन्म गोर्खाको बोर्लाङ भन्ने ठाउँमा भएको बताएका छन् । केहीले चाहिँ उनको जन्म गोर्खामा र न्वारानचाहिँ अर्घाखाँचीमा भएको भनी उल्लेख गरेको पनि पाइएको छ ।
    बलकोट पौवाका बारेमा अध्ययन र लेखन गरिरहेका नारायण भट्टराई भने जङ्गबहादुरको जन्म र न्वारान अर्घाखाँचीमै भएको दाबी गर्दछन् । उनी लेख्छन्,
    ‘समय बित्दै गयो । वीरनरसिंह कुँवरजी राणा समयको सुरुसँगै जङगबहादुर राणा हुनपुगे । विभिन्न घात–प्रतिघातका बीच उनी १९०३ साल असोजमा नेपालको प्रधानमन्त्री बन्नपुगे । यस क्षेत्रका बासिन्दालाई जङ्गबहादुर राणा नै वीरनरसिंह कुँवर हुन् भन्ने हेक्कै भएन होला । शक्तिमा आएपछि आफू जन्मेको ठाउँ मथुरामा २० रोपनी जग्गाको व्यवस्था गर्न लगाई आफ्ना विश्वासपात्र सेनापति तथा आफ्नै जेठान सनकसिंह टण्डनको नेतृत्वमा एउटा लामपाटी निर्माण गराए । त्यसैगरी आफ्नो न्वारान भएको ठाउँ बलकोटमा नेपालको मौलिकता झल्किने काष्ठकला, वास्तुकलाले भरिपूर्ण पौवा, सत्तल र दुईओटा मन्दिर निर्माण गराए ।’
    जङ्गबहादुरको जन्म अर्घाखाँचीमा भएको भन्न सकिने आधार यो ठाउँप्रतिको उनको लगाव र प्रेम पनि एक हो ।

    (जेबी दर्लामीको प्रकाशोन्मुख पुस्तक नेपालको राजनीतिमा अर्घाखाँची (विद्रोह, हिंसा आन्दोलनको इतिहास) बाट एक अंश ।