• admin शुक्रबार, पुस २४, २०७७
  • प्रथम साहित्यिक हिमाल आरोही अर्घाखाँचीमा

    २४ पुस, सन्धिखर्क ।

    नेपालका प्रथम साहित्यिक हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटा अर्घाखाँची आइपुगेका छन् । काभ्रे जिल्ला पनौती नगरपालिका ८, पाटीथुम्का स्थायी बसोबास गर्ने सापकोटा लामो समयदेखि हिमालमा साहित्यिक गतिविधि गरेर चिनिएका छन् । गत कात्तिक २७ गते मनाङ जिल्लाको प्रसिद्ध चुलु ईष्ट हिमाल (६ हजार ५ सय ८४ मिटर) को सफल साहित्यिक आरोहण सम्पन्न गरी महाकवि लक्ष्मीप्रसाद देवकोटा र प्रसिद्ध आख्यानकार रमेश विकलको जन्मजयन्ती हिम शिखरमै मनाएर राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

    आगामी वैशाख महिनामा सर्वोच्च शिखर सगरमाथाको प्रथम साहित्यिक आरोहण सम्पन्न गर्ने योजनामा छन् उनी । प्रथम साहित्यिक आरोहणमा ४ ओटा साहित्यिक गिनिज वल्र्ड रेकर्ड बनाउने पनि उनको योजना छ ।

    उनले हिम शिखरमा उभिएर कविता वाचन गर्ने पहिलो कवि पनि हुन् । उनले साहित्यिक पैदल दौड गरी पूर्व पश्चिम राजमार्ग, वीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग तथा सिद्धार्थ राजमार्ग पार गरी हजारौंलाई कविता सुनाएका छन् ।

    साहित्यिक खोज अनुसन्धानका लागि अन्य जिल्लाहरू हुँदै उनी अर्घाखाँची आइपुगेका हुन् ।