• Lumbini 24 शनिबार, पुस २५, २०७७
  • मान्छे

    बूँद राना

     

     

    मान्छे
    पहाडी हुनुपर्ने रहेछ
    मान्छे मधेसी हुनुपर्ने रहेछ
    मान्छेलाई मात्र मान्छे भएर नपुग्ने रहेछ

    मान्छे
    हिन्दू हुनुपर्दो रहेछ
    मान्छे
    क्रिस्तान हुनुपर्दो रहेछ
    मान्छेलाई मान्छे भएर मात्र नहुने रहेछ

    मान्छे काँग्रेस हुन्छ
    मान्छे कम्युनिष्ट हुन्छ
    तर
    मान्छे, मान्छे हुँदैन

    मान्छे नास्तिक हुँदो रहेछ
    मान्छे आस्तिक हुँदो रहेछ
    हो त,
    मान्छे, मान्छे भएर त टिक्नै नसक्ने रहेछ

    मान्छे कसैको साख्खै भैदिन्छ
    मान्छेले कसैलाई टाढा गरिदिन्छ
    मान्छे पक्षपातरहित हुनै सक्तैन

    यस्तो गोलचक्करमा
    खै’ कुनचाहिं मान्छे
    निख्खर मान्छे भएर जिउँदै होला र ?

    अर्काको कुरा के गर्नु ?
    यहाँ त
    म आफै पनि मान्छे रहें कि रहिनँ
    म स्वयं मान्छे भएँ कि भइनँ
    शंका छ
    त्यसैले म मान्छे हुँ
    ढुक्कै भन्न सक्तिनँ