• Lumbini 24 आइतवार, पुस २६, २०७७
  • सुपा देउराली : एक पृष्ठभूमि

    
    वीरेन्द्र शाह

    त्रेतायुगीन पुरुषोत्तम श्रीरामको गाथासँग किम्बदन्ती गाँसिएको अर्घाखाँची जिल्लास्थित महाभारत श्रृंखलाभित्र पर्ने ‘सुपा देउराली’ खण्ड एक प्रतिष्ठित स्थल मानिन्छ । यसैको सेरोफेरोस्थित बनबासको समयमा सीताले खाना पकाउन प्रयोग गरिएको मानिने हालको सीताको चुली भन्ने ठाउँबाट चुल्हो आकारको पत्थर २०२२ ताका घोडेटो बाटो खन्ने क्रममा मिल्काइए तापनि स्थान विशेषको नाम भने कायमै भएको देखिन्छ र यसैको आसपास सिद्ध खोल्टी (सिद्ध तपोबन) पनि पर्दछ । सीताकै नामबाट नामाकरण गरिएको मानिने परम्परामा आधारित सीताखोलाको उद्गमस्थल पनि यही भेगमै पर्दछ । सम्भवतः यस पवित्र पावनस्थलमा बनबासको समयमा श्रीरामले पनि जगदम्बा योगमायाको ध्यान अर्चना वा आधा शक्तिपीठको प्रतिष्ठान गरिएको हुनुपर्छ भन्ने वर्तमान सन्दर्भमा काल्पनिक

    लेखक

    खोजको एक अंश बन्न सक्दछ ।
    यहाँ उल्लेख गर्नुपर्ने विषयको अभिप्राय यो हो कि इतिहासको उत्तरमध्यकालीन समयतिर चौबिसे राज्य समूहमा पर्ने खाँची र अर्घा अलग अलग स्वतन्त्र राज्यमध्ये वि.स. १४९२ तिर खँचेली पहिलो (शाह वँशको) सँस्थापक राजा हंवीर सिंहपछि यिनकै वँशजमा सोह्रौँ पुस्तामा पन्ध्रौँ अन्तिम राजा दुर्गाभजन शाहसम्म लगभग साढे तीनसय वर्षजति मेधासी राज्यकाल रही वि.स. १८४३ मा पाल्पा अधिनस्थ एकिकृत नेपालमा बिलयपछि खाँची राज्यको अस्तित्व लोप भएको देखिन्छ ।
    सुपा देउरालीको नामले सर्वकार्य समथ्र्या ईश्वरीय शक्तिकी रुपमा लौकिक मानसपटलमा अवतरित रहँदी यिनै जगन्माताको ब्युत्पत्तिको विषयमा दुई किसिमका पारम्परिक जनश्रुतिहरू लोकार्पणमा प्रवाह भएका देखिन्छन् । यसमा पहिलो जनश्रुतिअनुसार खाँचीका कुनै अज्ञातनामा राजाकी छोरी अज्ञातनामा ‘मैया’ले विवाह गर्न नमानिराखेको अवस्थामा यिनका बाबुआमा वा माइती पक्षले हटबल प्रयोग गरी कन्याको राय मञ्जुरीबिना भारत उत्तरप्रदेशस्थित बलरामपुरतिरको कुनै अज्ञातनामा राजपूतसँग विवाह गरी गराई कन्यालाई डोली चढाइ जन्ती पक्षको जिम्मा लगाइ दरबारबाट बिदा दिइ पठाउँदा डोलीसहित जन्ती पश्चिम बलरामपुरतिर लाग्ने क्रममा बाटोको थकाई मार्न डोलेहरूले सुपा देउराली भएकै स्थानमा डोली बिसाइ जन्तीसमेतले विश्राम लिइरहेकै अवस्थामा एकाएक कसैले डोलीबाट रगत बगिरहेको जस्तो देखेछ र डोली खोली हेर्दा त दुलही छुरी प्रयोग गरेर आत्महत्या गरी मृत अवस्थामा रे ! जन्ती रित्तै आफ्नो गन्तव्यतिर लाग्नुपरेको थियो । यिनै कन्या पछि देउराली देवीकी रुपमा प्रकट भएकी हुन् भन्ने भनौनीले खँचेली राजकन्याले नै देवीत्व प्राप्त गरेको पुष्टि हुन्छ ।
    सुपा देउराली ब्युत्पत्ति विषयमा दोश्रो जनश्रुति तत्कालीन खँचेली राजाहरूका सन्तति समुदायमा व्याप्त मूल्य मान्यताअनुरुप खाँचीका सातौँ राजा ध्वजन शाहको राज्यकाल आनुमानिक वि.स. १६२७ देखि वि.स. १६६१ को यताउति खाँची दरबारमा राजकन्याको रुपमा एक दैविक शक्ति अवतरित भएकी थिइन् । यिनको नाम लीलावती थियो । आंगिक लालित्य मात्र नभएर यिनको मानवाकृति देहमा जन्मकालदेखि नै देवीत्व गुण निहित, शक्ति जगदम्बाको कृपाबाट सर्वसिद्धि प्राप्त गरी शक्तिरुपाका रुपमा प्रतिबिम्बित रहँदी, ‘म अविवाहित नै बस्नेछु’ भन्ने प्रण लिएकी आफ्नी छोरीको अभिध्येय मातापितालाई कदापि सह्य भएन । यिनको ईच्छाविपरित विवाह गरिदिने कुराको तारतम्य मिलाउन थालियो ।
    यसैबीच गोर्खामा संस्थापकपछिका दोश्रा राजा पुरन्दर शाहले आफ्ना माहिला छोरा राम शाहको विवाह निमित्त कन्या विषयमा खाँची दरबारमा पठाइएको मगनी प्रस्ताव माइती पक्षबाट स्वीकार गरियो । त्यस समयको चलनअनुसार धेरै टाढाको विवाहमा जाँदा आफ्नो खानेबस्नेसहितको आवश्यक सामाग्री जन्ती पक्षले आफै लिएर जानुपर्ने हुनाले बाटो म्याद धेरै दिन लाग्ने यस किसिमको विवाहलाई ‘कुम्ले विवाह’ भनिन्थ्यो । खँचेली तेह्रौँ राजा दल शाहकी छोरी चन्द्रप्रभाको गोर्खाली युवराज नरभूपाल शाहसँगको विवाहमा गोर्खाबाट कुम्ले विवाहका जन्ती खाँची आएका थिए भने यो गोर्खा–खाँचीबीचको पहिलो वैवाहिक सम्बन्धमा माइती पक्षबाट ‘डोला’ दिने निर्णय गरिएको थियो । यसमा डोली बोक्ने डोलेहरू र कन्यादान दिने प्रतिनिधि माइती पक्षबाट पठाइदिए पुगिहाल्थ्यो । यसैअनुसार लीलावतीलाई डोली चढाई गोर्खाका लागि रमाना गरियो । बिचरी कन्या माइती पक्षको कुकृत्यदेखि झसंग भइन् । आत्मीक वेदनाको अन्तरालमा गहिरो सास फेरिन् ।
    डोलेहरू सुपा देउराली पुगेर एकछिनको लागि विश्राम लिए । शक्तिको उपासनाबाट ‘म खूद देवीत्वमा लीन हुन सक्दछु’ भन्ने हठयोग (ह–सूर्य ठ–चन्द्र) मा दृढ यिनले आफ्नो अन्तर्वेदना शक्ति रुपीणी जगदम्बासँग पोख्दै त्यहाँ ढुंगाको पहरामा ईश्वरीय प्रतिमाका अनावरण गरी माइती देशसँग बिदा माग्दै डोली चढी गोर्खातिर रमाना भइन् । निश्चित लगनमा राम शाहसँग यिनको विवाह सम्पन्न भयो ।
    सुरुसुरुमा यिनको दृष्टिमा राम शाह एक पटमूर्ख ठहरिएका थिए । त्यहाँ (गोर्खामा) लीलावतीले सूर्यको मुख पनि नहेर्ने, मर्दको मुख पनि नहेर्ने भनी योग साधनामा प्रयोग गर्ने गरिएको होमकुण्डसहितको गुफा छ भनिन्छ । पहिलोपटक त्यहाँ प्रवेश गर्ने क्रममा राम शाहले हस्तक्षेप गरी रोक्न खोज्दा ‘माइतीले मलाई यस्तो मूर्ख खोजेर विवाह गराइदिएछन्, अब उप्रान्त म साधनारत यस स्थलमा माइती पनि भेट्न नआउनू आए अनिष्ट होला’ भन्ने श्राप परेको भनिन्छ । माइतीले हेर्न हुन्न भन्ने गरिएको ठाउँ हाल विद्यमान मनकामना मन्दिर होइन । यिनको साधना तपस्यारत स्थल हो । यिनै लीलावतीले तपस्या गरेको गुफा, होमकुण्ड गोर्खामा भएको कुरा वि.स.२०१३–१४ सालतिर गोर्खा निवासी योगी नरहरीनाथ मेरै घरमा एक रात बास बसिरहेकै अवस्थामा मेरो बुबा र योगीजीको सोधनीखोजनीकै सिलसिलामा मलाई पनि थाहा भएको थियो ।
    यिनै लीलावती अब खँचेली चेली मात्र नभएर गोर्खामा कुलबन्धु हुन पुगिन् । त्यहाँ न्यायप्रेमी प्रसिद्ध राजा राम शाहको समयमा ‘चन्द्रमुखी रानीमाई’ नाममा प्रख्यात भइ गुरु गोरखनाथ सिद्ध लखन थापा (मगर) सम्मिलित हुने गरिने दैवी सभाहरूमा सभापतित्वको सौभाग्य प्राप्त गर्दैै सशरीरले अलौकिक लीलाहरू गरेर राजा राम शाहको निधनपश्चात् आफ्ना चेला सिद्ध लखन थापालाई दिएको वचनअनुसार शीलाका रुपमा गोर्खाको काफेक गाउँमा प्रकट भइन् । त्यहाँ त्यो शीलालाई सिद्ध लखन थापाद्धारा प्रतिस्थापन गरियो ।
    भौतिक शरीर परित्यागपछि यी खँचेली चेलीले आफ्नो कुलघराना गोर्खामा मनकामना देवीको रुपमा विराजमान भइन् भने अर्कोतिर आफ्नो प्रिय जन्मथलोप्रति अगाध स्नेह राख्दै सुपा देउरालीमा आफ्नो शक्तिपुञ्ज निहित गराइ सुपा देउरालीको नामले परिचित भइन् । गोर्खामा सिद्ध लखन थापामगर जस्तै धेरैपछि खाँचीमा पनि सिद्ध हरिनारायण भट्टराई प्रादूर्भाव भएका थिए । आफ्नो योगबलद्वारा सुपा देउरालीको उत्पत्तिको सूचना सायद उनैले गरेका थिए ।
    लगभग त्यसै समयदेखि तात्कालीन खँचेली राजपरिवार काजी खड्का (क्षेत्री), कपर्दार (मगर), राजभण्डारी (नेवार) ले देउराली मातालाई चेलीमाईको रुपमा स्मरण गर्दै वैशाखे पूर्णिमाको दिन पूजा गर्ने चलन चलाएका थिए । कालान्तरमा एक वर्ष बिराएर हरेक वैशाखे पूर्णिमामा दिवाली (कूलपूजा)मा परिणत भयो । परम्परागत मूल पूजारी खनाल ब्राम्हण रहने गरेको यो मन्दिर ‘जानताऽजानतावापि दृढ भक्तिपरायण’ मा रहने सम्पूर्ण आस्तिक श्रद्धालु भक्तजनहरूकी मनोवांछित फलकी दातृ भक्तवत्सला माताको रुपमा प्रतिस्थापन भै निरन्तर जगत्जननीको महत्तामा श्रीवृद्धि भैरहेछ ।

     

    अतएव, न त अल्पज्ञले विशेषज्ञको परीक्षा लिन सक्छ, त्यसैगरी नै विशेषज्ञले पनि सर्वज्ञको परीक्षा लिनै सक्दैन भनेजस्तै हाम्रा कसैका प्राकृत आँखामा छूरी धसेर मरेकी चेलीले देवीत्व प्राप्त गरेको स्वरुपमा आराधना गरियोस् या अर्काथरीका आँखामा गोर्खाली भगवती मनकामनाकै प्रतिछाया रुपमा उपासना गरियोस् करुणामय शक्तिकी खानी जगत्जननीलाई स्वीकार्य नै हुनेछ । अस्तु ।

    Photo : JB Darlami