• Lumbini 24 आइतवार, पुस २६, २०७७
  • नेपाल : मेरी सानीआमा

     

    लेखक

     

    फणीश्वरनाथ रेणु

     

    छोटी माँ’ अर्थात् सानीआमा ।
    नेपालमा मेरी सानीआमा बस्नुहुन्छ । हरेक वर्ष विजयादशमीमा म उहाँलाई प्रणाम पठाउँछु अनि आशिर्वाद ग्रहण गर्दछु । म जहिलेपनि जब नेपालको धर्तीमा आफ्ना पाउ टेक्छु तब एक चिम्टी त्यहाँको माटो लिएर शिरमा राख्दछु । मेरा स्मृतिहरू जाग्दछन् अनि म रोमाञ्चित हुने गर्दछु ।
    जय नेपाल ! नेपाल मेरी सानीआमा ।

    गर्मीविदाका अन्तिम दिनहरू चलिरहेका थिए । त्यसैका बाँकी दुईचार दिन बिताउन भनेर म एक आफन्तको घरमा पाहुना लाग्न गएको थिएँ । घर फर्कने दिन बिहानैदेखि मुसल्धारे वर्षा भइरहेको थियो । गढबनैलीको सानो रेलस्टेशन जहाँ ती दिनहरूमा रेलगाडी बडो अनिच्छापूर्वक रोकिन्थे । हाम्रो रेलगाडी अर्थात् जोगबनीतिर जाने रेल जब त्यो स्टेशनमा आइपुग्यो तब घनघोर वर्षाको साथमा पुर्बी बतास पनि चलिरहेको थियो । बतास जोडले चलिरहेका कारण हातमा छाताछतरी भइकन पनि मानिसहरू दौडँदैभिज्दै रेलमा सवार भइरहेका थिए । रेलका सबै झ्यालहरू बन्द थिए अनि ढोकाहरूमा मानिसहरूको भीड लागेको थियो ।
    गार्डसाहेबले बजाएको सिठीको तिखो आवाजसँगै रेलगाडीको इञ्जिनको मोटो आवाज पनि सुनिएको थियो । म त्यतिञ्जेलसम्म यताउता दौडिरहेको थिएँ । रेलगाडी आफ्नो लिकमा हिँड्न थालिसकेको थियो ।

    हिँडिरहेको रेलको जुन डिब्बा आफ्नो नजिकबाट भएर गइरहेको मलाई लाग्यो म त्यसैको हैण्डिल समातेर झुण्डिएँ । एकजना ग्रामिण मानिसले छुटेको आफ्नो साथीलाई चिच्याइचिच्याइ भनिरहेको थियो, ‘हत्था समात् हत्था ।’ ढोकानिरको हैण्डिललाई त्यसले हत्था भनेको थियो । मलाई उसको कुराले प्रेरणा मिल्यो, हत्थामा समातेँ अनि झुण्डिएँ ।
    खुट्टा राख्ने ठाउँसम्म पुग्नुअगावै मेरो काँधमा झुण्डिरहेको छाता भुईँमा खस्यो । त्यससमय प्लेटफार्ममा जेजति होहल्ला भइरहेको थियो त्यो सब मेरो कारणले नै थियो । गढबनैलीको अद्र्धपागलको बोली आजपनि मेरो कानमा गुञ्जिरहेको छ, ‘ए छोटे मियाँ, आँ आँ अब तँ मर्छस् साला !’

    ‘छोटे मियाँ’ उसले मलाई नै भनेको थियो अनि गाली पनि मलाई नै गरेको थियो । खासमा कुरा मेरो पहिरनको थियो । मैले कुर्ता पाइजामा लगाएको थिएँ अनि त्यस समयसम्म पाइजामा हाम्रो इलाकामा आम पहिरन बनिसकेको थिएन । यसलाई मुसलमानहरूको पोशाक भन्ने ठानिन्थ्यो ।
    ‘छोटे मियाँ अब तँ मर्छस् । बतास र पानीले मिलेर हिर्काइरहेको थप्पडलाई कतिञ्जेल सहन सक्लास् तँ ? जलालगढ पुग्नुभन्दा अगाडि नै तँ रेलगाडीबाट खस्छस् अनि मर्छस् ।’ यस्तै कल्पना गरेर छोटे मियाँ थर्थर काँप्न थाल्यो । दौडेर अघि हत्था समात्ने बेलामा नै उसले ढोकामा फस्र्ट क्लासको रोमन अङ्क देखिसकेको थियो । ‘भित्र कोही अँगे्रज या एँग्लो बसेको होला । अनुनय विनय गरेपछि त्यसले ढोका त खोलिदेला तर मेरो आङमा खादीको कुर्तापाइजामा देखेपछि त्यसले मलाई लात्ताले हानेर तल खसालिदिनेछ ।’ कल्पनाले छोटे मियाँको कलेजो मुखमा आउलाजस्तो भयो । छोटे मियाँको मुखबाट बडो मुश्किलले बोली निस्कियो, ‘ओपेन सर । प्लीज, … आइ एम डाइङ …. ओपेन !’

    फस्र्ट क्लास डिब्बाको ढोका खुल्यो । एउटा गोरो घाँटी, एउटा गोरो अनुहार देखा प¥यो । छोटे मियाँले आँखा बन्द ग¥यो, ‘अब ज्यानले खाने भयो बूट !’
    हत्थाबाट कतिखेर हात छुट्यो अनि कतिखेर म त्यो डिब्बाभित्र प्रवेश गरेँ त्यो कुरा मलाई न आज सम्झना छ न त त्यो दिन नै थियो ।
    गोरो वर्णका ती मानिस कुनै गोरा या एँग्लो थिएनन् । उनी त शुद्ध खादीधारी थिए । उनको ओठमा स्वजनोचित मुस्कान थियो अनि उनले शुद्ध हिन्दी भाषामा मलाई सोधे,
    ‘किन ? चलिरहेको रेलमा किन चढ्नुभयो ?’
    ‘हजुर । यो स्टेशनमा रेल रोकिनै मान्दैन ।’ मैले भनेँ ।
    ‘यो स्टेशनको नाम के थियो ?’
    ‘गढबनैली ।’
    ‘जानेचाहिँ कहाँ नि ?’
    ‘सिमराहा स्टेशन ।’
    म लाजले पानीपानी भइसकेको थिएँ किनकी बर्थमा बसिरहेकी एउटी केटी अघिदेखि नै मलाई हेर्दै एउटै तालमा मुस्कुराइरहेकी थिई । मसँग केके सोधिरहेका मानिसले त्यस केटीसँग केही भने । उनले बोलेको भाषा न अँग्रेजी थियो, न हिन्दी, न बाङला न त मैथिली । तर त्यो भाषा ग्रीक या चीनिया लवजको पनि थिएन । मैले जति बुझ्न सकेको थिएँ, त्यति कुरा छर्लङ्ग बुझेको रहेछु । उनले भनेका थिए, ‘यो केटो कसो खसेर मरेन !’
    लूगा ? कपडालाई हाम्रो गाउँमा पनि लूगा नै भन्थे । उनले पनि यही वाक्य बोलेका थिए । लूगा भन्ने शब्द सुन्नासाथ माथि बर्थमा बसेर मुस्कुराइरहेकी केटी उठी । लेदरको झोलाबाट खादीको धोती निकाल्दै भनी, ‘धोती त छ तर कुर्ता ?’
    मैले भनेँ, ‘त्यसको जरूरत छैन । एकछिनमा यो सुकिहाल्छ ।’
    ती भद्र मानिसले मेरो हातमा धोती थम्याइदिँदै बाथरूमको ढोका देखाइदिए । सहरमा धोइएको खादीको मसिनो धोती पहिरिएर जब म बाथरूमबाट बाहिर आएँ तब देखेँ, एउटा सफा हाफ–शर्ट मेरो लागि उनीहरुले निकालेर राखिदिएका थिए । त्यसलाई पनि लगाएर हेरेँ, ठ्याक्कै मेरो ज्यानमा मिल्यो । त्यो कमिजको भित्रपट्टि घाँटीनिरको भागमा रातो रङको मोनोग्राम अङ्कित थियो जहाँ लेखिएको थियो, ‘टी पी के ।’
    रेलगाडी जलालगढको स्टेशनमा आएर रोकियो । टिकट–चेकरले मलाई गढबनैलीको स्टेशनमै देखेको थियो । रेल रोकिनासाथ ऊ कराउँदै आयो, ‘कहाँ गयो त्यो केटा ?’ त्यसपछि ममा दृष्टि पर्नासाथ ऊ चिच्यायो, ‘निस्कीहाल् यहाँबाट ।’
    ती भद्र मानिसले चेकरलाई रोक्दै भने, ‘सिमराहासम्मको लागि यसले थर्ड क्लासको टिकट लिएको छ । अब त्यसलाई फस्र्ट क्लासको बनाइदेऊ ।’
    अघि धोती कमिज लिने समयमा मैले थोरै आनाकानी गरेको थिएँ तर यसपटक म बोल्नै सकिनँ । उता त्यो केटी जो मेरै उमेरकीजस्ती थिई, निरन्तर मुस्कुराइरहेकी थिई ।

    त्यसपछि ती गोरो वर्णका भद्र मानिसले मलाई आफ्नो छेउमा बसाले । नाम, काम, पढाईलेखाईको बारेमा सोधपुछ गरे । मैले देखेँ, त्यो मुस्कानवाली केटीले ‘चाँद’ मासिक पत्रिकाको खोलले आफ्नो अनुहार छोपेर हाँसोलाई लुकाउने प्रयत्न गरिरहेकी थिई ।
    मैले भनेँ, ‘गाउँका स्कूलहरूमा पढ्न मेरो मनले मान्दैन । पहिला गुरूकुल काँगडीमा जान चाहेको थिएँ तर बाबाले मान्नुभएन । अहिले शान्ति निकेतनमा जान्छु भन्छु तर आमाले मान्नुहुन्न ।’
    युवतीले ‘चाँद’का पृष्ठहरू बन्द गरी । यसपटक त मेरो कुरा सुनेर ती भद्र मानिस पनि मुस्कुराउन सुरू गरेका थिए । मैले त्यस पत्रिकालाई हातमा लिँदै सोधेँ, ‘नयाँ अङ्क हो ?’ अनि दूबेजीको पत्र निकालेर पढ्न थालेँ । फेरि कुरा यसरी अगाडि बढ्यो कि मैले भारत–भारती पनि सस्वर वाचन गर्न लागेँ, ‘…. भगवान, भारतवर्षमा गुञ्जोस् हाम्रो भारती । ……’
    भद्र मानिस मेरो वाचन सुनेर मन्त्रमुग्ध भए कि भएनन् कुन्नि ? तर उनको मुस्कानले मलाई उत्साहित बनाइरहेको थियो । अनि त्यस युवतीको मुस्कानलेचाहिँ उत्तेजित । त्यसपछि मैले रवीन्द्रनाथ ठाकुरका केही कविताहरू पनि वाचन गरेर सुनाएँ,
    ‘दिनेर शेषे घुमेर देश घोमता परा ए छाया ….
    भूलाल रे भूलाल मोर प्राण
    नव वत्सरे करिलाम पन लबँ स्वदेशेर दीक्षा
    ….’
    अनि मैले सोधेँ ती भद्र मानिसलाई,
    ‘तपाईँको नाम के हो ? कहाँ जानुहुन्छ ? कहाँबाट आउँदै हुनुहुन्छ ? घर कहाँ ?’
    नाम सुनेर केही चमत्कृत बनेको थिएँ, ‘कोइलावाला ?’
    उनले आफ्नो घर विराटनगर बताएपछि मैले अचानक मेरो मीतबुबालाई सम्झेँ । विराटनगरका ‘खरदार साहेब’ भन्थे, तर मैले उनलाई देखेको थिइनँ । आमा अनि बाबाको मुखबाट सुनेको थिएँ, मीतबाको कथा ।
    ‘मेरा मीतबा अर्थात् मेरो पिताजीको साथी पनि विराटनगरमै बस्नुहुन्छ ।’ मैले भनेँ ।
    ‘के नाम हो उनको ?’ सोधनी भयो ।
    ‘खरदार साहेब ।’
    मेरो जवाफ सुनेर त्यो रूपवतीको हाँसो झन् छचल्कियो । विनाकारणको यो कस्तो हाँसो हो ?
    ‘कुन खरदार साहेब ? त्यहाँ त धेरै खरदारहरू छन् । खरदार कुनै नाम हैन । यो त जस्तो कि तपाईँकोतिर भन्छन् नि, मुन्सी, डिप्टी कलक्टर …. । यस्तै हो ।’
    छोटे मियाँको मुख सानो भयो । त्यसोभए खरदार साहेब कुनै नाम हैन ? ऊ रन्थनियो, नाम हैन ? ‘जसले टेढीमा आश्रम बनाएका थिए । अनि उनले स्कूल पनि चलाएका छन् । ……’
    ‘ठिक छ । तपाईँ कहिल्यै विराटनगर जानुभएको छैन ?’
    ‘छैन ?’
    ‘त्यसोभए आउनुस् कुनैसमय । तपाईँका पिताजीको मित्र पहिलेदेखि नै रहेछन् अब तपाईँ पनि मेरो मीत बनेमा …. ।’
    यसपटक त्यो सौभाग्यवती, जसको स्यूँदोमा सिन्दूर भर्खरै देखेको थिएँ, हाँस्दाहाँस्दा झण्डै मरिन ।
    मैले भनेँ, ‘आउने मन त धेरै दिनअघिदेखि नै छ । तर …’

    रेलगाडीले मेरो गन्तव्यको निकटतम सीमारेखा पार गरिसकेको देखेपछि म आत्तिएँ,
    ‘यी लूगा, कमिज धोती …’
    भद्र मानिस बोले, ‘ठिकै छ नि त । तपाईँ आउँदै हुनुहुन्छ पछि ।’
    आफ्नो गाउँको स्टेशन सिमराहा स्टेशन यति छिटो पुग्नुको दुःख जीवनमा पहिलोपटक भइरहेको थियो । योभन्दा अघिअघिका यात्राहरूमा रेलमा चढ्नेबित्तिकै म यही सोच्ने गर्थेँ, बीचका स्टेशनहरूमा नरोकिएर यो रेलगाडी एकैचोटि हाम्रै स्टेशनमा आएर रोकिए हुन्थ्यो ।
    ———

    गाउँको सीमाभन्दा बाहिर आइपुग्दा नै थाहा भयो कि घरको वातावरण असाधारण किसिमले तातिएको छ । बाबा हिजोदेखि नै आगो भएर मेरो ढाड आइपुग्ने समयको पर्खाईमा हुनुहुँदोरहेछ । खराऊको एक नयाँ जोडी मेरो ढाडको लागि तयार भएर बसेको छ भन्ने पनि थाहा पाएँ ।
    बाबा भर्खरै आर्यसमाजी बन्नुभएको थियो । जबदेखि आर्यसमाजको चर्चा हुन थाल्यो मेरो बाबाको तामस तेज हुनथाल्यो । हामी अर्थात् उहाँका सन्तानहरूमाथि नै उहाँले आर्यसमाजको आर्षवाक्यको पहिलो प्रयोग सुरू गर्नुभयो । हामीलाई पिटपाट पार्नुभन्दाअघि उहाँ नियमपूर्वक केही श्लोकहरूको पाठ गर्नुहुन्थ्यो । ती श्लोकहरूको अर्थ हुन्थ्यो, ‘पाँचवर्षको उमेरसम्म लालन, दसवर्षपछि सम्भवतः सोह्रवर्षसम्म ताडन, त्यसपछि पुत्रसित मित्रको व्यवहार गर्नुपर्दछ ।’ मित्रताको गन्तव्य त अझ धेरै टाढा थियो । अनि यसपटक बाबालाई आफ्नो आर्यत्व देखाउने अपूर्व अवसर जुरेको थियो ।
    गृह सम्वाददाताबाट योपनि जानकारी भयो कि बाबालाई मेरो छुट्टीकोबारेमा सबैकुरा थाहा भइसकेको छ । स्कूलका लामा छुट्टीहरूमा एक हप्ता अरू थपेर मैले घरमा सुनाउने गर्थेँ । एकपटक त डेढ महिनाभन्दा बढी छुट्टी त्यसरी नै मिलाएको थिएँ । र अझ यसपटक आफ्नो नीजि छुट्टीवाहेक तीन दिन अरू उडाएको थिएँ । छाता पनि रेल चढ्ने बेलामा खसेर हराएको थियो । त्योपनि बाबाकै थियो । नयाँ नै थियो त्यो । होस्टेलको बाँकी रकम छुट्टीअघि नै घरबाट असुलेको थिएँ तर होस्टेलमा अझै चुक्ता गरेको थिइनँ । बाबालाई योबारेमा पनि थाहा भइसकेको थियो ।
    ‘चलिरहेको रेलमा किन चढिस् ?’ यही एउटा प्रश्नमा बेतको लौरो पाँचपटक पर्ने पक्कापक्की थियो । ऊफ् ! यसपटक त बेसार र चूनाको न्यानो लेप लगाएपनि शरीरको दुखाइ जाँदैन होला । पिट्दापिट्दा मलाई बाबाले आज पक्कैपनि सत्यार्थ प्रकाश नै बनाउनुहुन्छ होला भनेर मनमनै सोचेँ ।
    त्यो गृह सम्वाददातालाई एकन्नी पैसा दिएर नीजि सम्वाददाता बनाएँ । गाउँको सीमाभित्र खुट्टै राखिनँ । त्यहाँबाट पैदलै आठ माईल हिँडेर फारबिसगञ्ज गएर बसेँ ।

    गाजीरामको दोकानबाहिर बेञ्चमा रातभरि पल्टिएर स्टेशनकोछेउ चौबाटोमा हुने रासलीलाका गीतहरू सुनेँ । हाम्रो गाउँमा रामलीला र रासलीलाका मानिसहरू पछिल्लो चारपाँच वर्षदेखि आउजाउ गर्न बन्द गरेका थिए । कारण, त्यस ईलाकाका धेरै मानिसहरू आर्यसमाजी बनेका थिए । हाम्रो गाउँका मानिसहरू तिनलाई राम तथा कृष्ण अथवा राधाको रूपमा केटाहरूलाई नचाउने धूर्तहरूको मण्डली भन्दथे ।
    ….. बाबाका साथी पनि कतै आर्यसमाजी त हैनन् ? सोचेको थिएँ ।

    आमाको मुखबाट सुनेका केही कथाहरूका पछिल्ला पङ्क्ति अझै पनि सम्झनामा थियो । आमा भन्नुहुन्थ्यो, ‘तेरो जन्मको के कुरा ? त्यो वर्ष मगनीपछि पहिलोपटक म ससुराल आएकी थिएँ । लोग्नेको घरमा । चौथो दिनको साँझ एक देउताजस्तो पुरूष अनि देवी दुर्गाजस्ती स्त्री हाम्रो घरमा आएका थिए । तेरो बाले आफ्नी आमासँग भन्नुभएको थियो, ‘आमा, सायद यी देवता नै हुन् ।’
    तर उनी थिए खरदार साहेब । शिक्षाकोबारेमा प्रचार गरेको अभियोगमा उनलाई पिञ्जडामा कैद गरेर सपरिवार काठमान्डू पठाउने हुकुम भएको थियो । तर बडा हाकिमहरूको सहायताले गर्दा ती दुईजना सीमापार गरेर यता आएका थिए । टाढा जाने हो भनेका थिए, कलकत्ता, प्रयागतिर । पुलिसले थाहा नपाउने ठाउँमा । खरदार साहेबकी पत्नी मलेरियाले ग्रस्त थिइन् । माटो र फूसले बनेको हाम्रो झोपडीमा पन्ध्र दिनसम्म ती देवी र देवताले बास गरे । जाने बेलामा भन्दै गएका थिए, ‘यी दिन र यो मित्रता कहिल्यै बिर्सनेछैनौँ ।’

    त्यो घटनाको धेरै वर्षपछि बाबाले गएको वर्ष सुनाउनुभएको थियो, ‘खरदार साहेबलाई नयाँ तीन सरकार (प्रधानमन्त्री) ले फीर्ता बोलाएका छन् । शिक्षाप्रचार गर्ने शाही हुकुम मिलेको छ । विराटनगरमा एउटा आदर्श विद्यालय खोलेका छन् जहाँ टेढी आश्रमका सबै शिक्षकहरूले काम गरेका छन् ।

    ‘अहँ, म अब बेतको लौरो खानका लागि घर जाँदिनँ । बरू म त्यो साथीको घरमा जान्छु जो रेलमा भेटिएका थिए ।’ यही निर्णयपछि बिहानको पहिलो गाडी चढेर म जीवनमा पहिलोपटक भारतको एक कुनामा रहेको जोगबनी पुगेको थिएँ ।
    जोगबनी !
    आजभन्दा पच्चिस वर्षअगाडिको जोगबनी । उत्तरतिर घना कालो तराई, हिमालका टाकुराहरूमा चम्किरहने घाम । तराईमा जहाँसम्म दृष्टि पर्छ त्यहाँसम्म कुहिरो र तुँवालोको बर्को । जताततै काठपातहरू । यतापट्टि भारतमा धान कुट्ने एउटा मिल थियो, उतापट्टि नेपालमा पहिलो जूट मिल बनिरहेको थियो ।
    त्योभन्दा अघि जबजब म घरबाट भागेर हिँड्थेँ सधंै पुर्बोत्तरतिर जान्थेँ । कलकत्ता, भागलपुर, गोहाटीतिर । तर उत्तराञ्चलतिरको यो मेरो यात्रा पहिलो थियो । त्यतिबेला म चौध वर्षको थिएँ ।
    उतिबेला जोगबनी स्टेशनको चीयास्टलहरूमा जस्तोखालको चीया पिउन पाइन्थ्यो त्यस्तो चीया त अचेल पटनाका ठूलाभन्दा ठूला होटेलहरूमा पनि पाइन्न । कटिहार— जोगबनी लाइनमा पूर्णियाभन्दा पछि जोगबनीको रेलस्टेशनमा मात्रै चीयाका स्टलहरू थिए । आजपनि छन् तर बाह्रतेह्रवर्षअघि पाइनेजस्ता चीया आजभोलि पाइन्न ।
    स्टेशनको पुर्बतिर नेपाल—भारत सीमाको नजिक अन्य यात्रीहरूसँगै उभिएर मोटरगाडीको प्रतीक्षा गरिरहँदा थाहा भयो कि कसैले बिडीचुरोट राखेको छ र त्यो पक्राउ प¥यो भने त्यसलाई जेल पठाइनेछ । यो ती दिनहरूको कुरा हो जब नेपालका महाराजाधिराज अर्थात् पाँच सरकारको जन्मोत्सवमा एकाध दीयो बालिन्थ्यो अनि तीन सरकार अर्थात् राणा प्रधानमन्त्रीको जन्मदिनको अवसरमा विराटनगरमा होली र दीपावली एकसाथ मनाइन्थ्यो । सानो–सानो कुरामा पनि थुनामा परिने खतरा थियो । यस्तो राजनैतिक चेतना ऊबेलामा पनि थियो ।
    मोटरको नाउँमा एउटा ट्रक आयो । आजपनि यातायातमा धेरै सुधार भएको छैन । ट्रक त के भन्ने, जँगली भैँसी मानौँ कम्मरसम्मको हिलोमा कर्दमक्रीडा गरेर आएको होस् । ट्रकमा खचाखच पहाडी नेपाली तथा गैरनेपालीहरू पनि भरिएका थिए । कुदाकुद गर्दै केही मानिस त्यहाँ झरे, केही उस्तै कलाबाजी देखाउँदै चढे पनि ।

    हातमा खादीको झोला झुण्ड्याएर मैले ड्राइभरसित बिन्ती गरेँ । ड्राइभरको छेउमा बसेका एकजना पण्डितले मलाई आफ्नो नजिक बसाले । उनको छेउमा बस्नेबित्तिकै एकप्रकारको सुगन्धले मेरो प्राण भरियो । पण्डितजीको निधारमा चन्दनको लेपसँगै चामलका केही दानाहरू टाँसिएका थिए । देखेँ, यताका मानिसहरूले पनि खादीका पोशाक लगाउँदारहेछन् । कसले भन्छ नेपालीहरू फोहोरी हुन्छन् ? त्यो त बिचरा पहाडतिर ÷हिमालतिरका मानिसहरू हुन् जहाँ पानी छुनसम्म गाह्रो हुन्छ ।
    पण्डितजीले सोधे, ‘कहाँ जाने हो ?’
    ‘साथीको घरमा ।’
    ‘साथीको नाउँ के हो ?’
    ‘नाम ! अस्पतालदेखि पश्चिमतिरको घर भन्थे । ….. कोइलवरवाला …. खुबै गोरा … हाँसिरहन्छन् । खादी लगाउँछन् ।’
    जोगबनीदेखि विराटनगरसम्मको सडक । हिलोमा फसेको गाडी चारपाँच दिनसम्म पनि ननिस्कँदो रहेछ । हामी चढेको ट्रक पनि कच्ची सडकको हिलोलाई मथ्दै बजारमा आइपुग्यो । चुङ्गी कार्यालयमा ।

    पण्डितजीले भने, ‘हिँड म पु¥याइदिन्छु । मेरो घरपनि अस्पतालदेखि पश्चिममै पर्छ । तर कोइलवरवाला भन्ने त त्यता मेरो घरको छेउछाउ कोही छैन ।’
    मैले सोधेँ, ‘कोइलावाला भन्ने कोही …… ?’
    हिलोमा मलाई सावधान गराउँदै उनी हाँसे । बाटोमा मैले सोधेँ, ‘यहाँ नगरपालिका या कुनै स्थानीय चिन्ह राखिएका कुनै सूचनापाटी छैनन् ?’
    उनले भने, ‘आफ्नै साथीलाई सोध्नू गएर । यो बाटोमा हिँड्ने मान्छे हिलोधूलोसँग जोगिनुपर्छ । बोल्नु हुँदैन ।’

    एउटा काठले बनेको घरनजिक गएर म उभिएँ । उनले सोधे, ‘के हो ?’
    मलाई लागेको थियो, हिजो रेलमा भेटिएकी मुस्कुराइरहने युवतीले एउटा झ्यालमा बसेर यता हेरिरहेकी छे । त्यसोभए यही हो मेरो साथीको घर । मैले भनेँ,
    ‘यहाँ सोधौँ है त ?’
    हाँस्दै पण्डितजीले भने, ‘यही हो तिम्रो साथीको घर । काठको दुईतले घर ।’

    देखेँ, मेरो मित्र पनि कम रहेनछन् । दुनियाभरको सजावट घर वरिपरि थियो । हँ ? घोडामा चढिरहेको को हो ? यो त केटी हो ।
    ‘विशुको काल आएको छ ।’ पण्डितजी तलैबाट कराए ।
    मैले उनलाई भनेँ, ‘धेरैधेरै धन्यवाद पण्डितजी ।’
    उनले भने, ‘पहिला हातखुट्टा धोऊ ।’
    मैले हातखुट्टा धोईवरी माथि हेरेँ । दुईतले त्यो घरको बरण्डामा रेलिङ समातेर एक दर्जनभन्दा बढी मानिसहरू मलाई नै हेरेर मुस्कुराइरहेका थिए । त्यहाँ मेरा साथी पनि थिए । रेलमा मुस्कुराइरहने त्यो विवाहित युवती पनि त्यहीँ थिई ।
    देखेँ, खै’ के कुरामा परिवारका सबैजना हाँसिरहेका थिए !
    देखेँ, पण्डितजी त्यही घरको आसनमा जमेर बसेका थिए ।
    हिजोमात्र परिचित मेरो साथीले पण्डितजीतिर देखाउँदै परिचय गराए, ‘उहाँ मेरो पिताजी ।’
    ‘हँ ? यी पण्डितजी यिनको पिताजी ??’ म छक्क परेर हेरिरहेँ ।
    साथीले भने, ‘तपाईँको मीतबा पनि उहाँ नै हो । अर्थात् खरदार साहेब ।’
    मैले मीतबा अर्थात् पण्डितजीको चरण छोएर ढोग गरेँ ।
    पिताजीले भन्नुभयो, ‘उता तिनीहरू किन हाँसिरहेछन्, थाहा छ तिमीलाई ?’

    हाँसिरहेकी बुनू (विजयालक्ष्मी)ले तोतेबोलीमा भनी, ‘कस्तो अचम्मको कुरा ! कमिज लगाइदिने तारिणी दाज्यूको अनि साथी भन्ने सान्दाजुलाई ?’
    मुस्कुराइरहने युवतीले भनिन्, ‘म त रेलमै झण्डै मरेकीथिएँ हाँस्दाहाँस्दा ।’
    मेरो साथी अर्थात् बीपीले भने, ‘अब तपाईँ र मपनि मीत भयौँ । हिहिहिहि ।’

    त्यो परिवारको सान्दाजु अर्थात् मेरो साथीले मुस्कुराउने युवतीको परिचय दिए, ‘यिनी सुशिला हुन् । तपाईँकै दर्जामा पढ्छिन् तर भारत–भारती सस्वर पाठ गर्न सक्दिनन् ।’
    त्यतिञ्जेल मैले हिजो रेलबाट लगाउँदै आएको हाफ–शर्टको मालिक आइपुग्यो । आउनेबित्तिकै मलाई जोडसँग अङ्कमाल ग¥यो र उता फर्केर भन्यो, ‘देख्नुभो भाउजु ? मैले भनेको थिएँ नि, मेरो हराएको कमिजले केही खोजेरै फीर्ता आउनेछ । एउटा ‘मुसल्लम मितर’ भेटियो ।’
    (तारिणीले पनि मलाई मुसलमान ठान्यो ।)
    तुरून्तै मित्रतामा फेरबदल भयो । तारिणीले मलाई जित्यो । मुस्कुराइरहने सौभाग्यवती सुशिला भाउजुलाई भक्तिपूर्वक झुकेर प्रणाम गरेँ । भाउजुले कुनै आशिर्वाद दिनुभएन, हाँसिरहनुभयो ।

    सान्दाजु, विश्वेश्वरप्रसाद कोइराला ।
    ठूलो दाजु, श्री मातृकाप्रसाद कोइराला । उहाँ काठमान्डूमा हुनुहुन्थ्यो र उहाँको तस्वीर सबै भाइबहिनीहरूको कोठामा झुण्डिएको थियो । सान्दाजुले गर्व र आदरकासाथ भन्नुभएको थियो, ‘हाम्रो ठूलो दाज्यू । यो फोटोचाहिँ पटनाको सदाकत आश्रममा छँदाको हो ।’
    माहिलाचाहिँको नाम कोशु दाज्यू । केशवप्रसाद कोइराला । कलकत्तामा पढ्नुहुन्थ्यो । उहाँको चिठी आएको थियो । पार्सलमा रसबरी मिठाई आउँदै थियो ।
    सबैभन्दा कान्छो गिरिजाप्रसाद कोइराला जो त्यतिबेला सातआठ वर्षको थियो, उसले यामानको पहाडी घोडालाई नचाइरहेको थियो । त्यत्रो ठूलो घोडा अनि त्यसमा सवार मान्छेचाहिँ यति सानो ?

    श्री कृष्णप्रसाद कोइराला समस्त विराटनगरका, समस्त मोरङ जिल्लाका अनि समस्त नेपाल देशका पिताजी थिए । पिताजी, कोइराला निवास, आदर्श विद्यालय ।
    गाइगोठजस्तो घाँस र सिठाले बारेको घरमा आदर्श विद्यालयको कक्षा चल्थ्यो । एकपटक कक्षामा बसिसकेपछि मैले निर्णय गरेँ, ‘म यहीँ पढ्छु ।’
    पिताजीले मेरो बाबालाई पत्र लेख्नुभयो, ‘रेणुले यहीँ पढ्नेछ ।’
    रेणु नाम पनि पिताजीले नै दिनुभएको हो ।

    एक दिन उहाँले मलाई सोध्नुभयो, ‘घरमा तिमीलाई के नामले बोलाउँछन् ?’
    मैले के भन्नु ? जुन वर्ष मेरो जन्म भएको थियो त्यही वर्ष एउटा ठूलो फौजदारी मुद्दाका कारणले हाम्रो परिवारमा पहिलोपटक रीन लागेको रहेछ । त्यसैकारण मेरी बज्यैले मलाई प्रेमसाथ रिनवाँ (ऋणवाँ) भनेर बोलाउँथिन् । रिसाएको बेलामा बाबाले पनि यही नामले बोलाउनुहुन्थ्यो । गाउँका मानिसहरूलेचाहिँ यही नामलाई यथासक्य मधुर बनाउँदै रनवाँ, रूनु, रूनुक, रीनू भनेर बोलाउँथे । यदि त्यो मुद्दा पहिलो फौजदारी भएको भए मेरो नाम निश्चय नै फौजदार हुनेथियो होला ।

    मैले माथिका नामहरूलाई सक्दो सुधारेर भनेँ, ‘राणा भनेर बोलाउँछन् ।’
    मेरो कुरा सुनेर वरिपरि भएकाहरू सबै गलल्ल हाँसे । मेरो साथी तारिणीले भन्यो, ‘यो राणाशाही यहाँ चल्नेछैन ।’
    पिताजीले भन्नुभयो, ‘ल यसको नाम अब रेणु भयो ।’
    यही नाम रह्यो । यो नाम र लामो कपाल भएको बेलामा धेरैपटक म लज्जित पनि बन्नुपरेको थियो ।

    त्यस समयपछि लगातार तीन महिनासम्म म आफ्नो गाउँमा आजसम्म बसेको छैनँ ।
    १९३५ देखि १९४२ सम्म पिताजीको सहज स्नेहको अधिकाँश मलाई मिलिरह्यो । आश्रमजस्तो कोइराला निवासमा मेरा सारा महत्वाकाँक्षालाई सहारा मिल्यो । साहित्य, राजनीति र कलाको त्रिवेणी कोइराला निवास । जहाँ गएपनि मेरो मन विराटनगरमै हुन्थ्यो । बाहिर कतैबाट फर्केर म सिधै विराटनगर पुग्थेँ । मेरो यस्तो व्यवहारले मेरा बाआमाले कहिलेकाहीँ दुःख पनि मान्नुहुन्थ्यो ।
    मैले देखेको छु, कोइराला निवासको एउटा साँघुरो कोठामा नेपालको मुक्तिको परिकल्पना नयाँ ढँगबाट गरिएको थियो । शहीद शुक्रराज जोशीआदिको हत्याको आवाज यही कोठाबाट निस्केर भारतीय पत्रहरूमा छापिएका थिए । ‘जनता’मा नेपालको चिठी छाप्ने योजना पनि बनाइएको थियो । अनि विश्वेश्वरप्रसाद कोइरालाका उम्दा कथाहरूको रचना पनि त्यही सानो कोठामा भएको थियो । मैले दुनियाका सबै राम्रा र प्रसिद्ध लेखकहरूको सम्बन्धबारेका चर्चा पनि त्यहीँ सुनेको हुँ । ती लेखकहरूको पुस्तक पनि त्यही कोइराला निवासमै पढ्ने अवसर पाएको हुँ । ती दिनहरूमा विजया जसको उमेर पाँच वर्षको हुँदो हो, एउटा किताबको नाम खुब रट्ने गर्थी, ‘नो पासाराँ, नो बागाराँ ।’
    सानीआमा श्रीमती दिव्या कोइराला सबैसँग भन्नुहुन्थ्यो, ‘मेरा पाँच हैन छः छोराहरू छन् ।’

    सन् १९५० को तिहारको झिलीमिली रात ।
    जय नेपाल !
    मुक्ति सँग्रामका सिपाहीहरूले बन्दुकको ट्रिगर दबाए । फस्र्ट राउण्ड गोली थ्रीनटथ्रीबाट निस्केको थियो । मैले देखेको थिएँ, मलाई देखेर नेपाल मेरी सानीआमा स्वर खोलेर हाँसेकी थिइन्,
    ‘तिमी पनि आएको ? तिमी पनि ? यो फौजी बर्दीमा ?’
    ‘सान्दाजुलाई हेर्नुहोला । मलाई के हेर्नुहुन्छ ?’
    पुर्बको कमाण्ड बीपी कोइरालाको । कलम हैन उहाँको हातमा दामी बन्दुक थियो । एकसाथ डेढसय गोली निकाल्ने बन्दुक ।
    टट्टठायँ …… टट्टठायँ …..
    ‘बिकू ? सुतेर भाइ सुतेर ।’
    राणाशाहीले स्टेनगनले जवाफ दिइरहेको थियो, ट–ट–ट–ट–ट टटटटट ट–ट–टट
    ‘बिकू ? तिमीसँग गोलीहरू छन् ? गिरिजालाई देऊ ।’
    कोइराला निवासमै हुर्केबढेको बीपीको छेमाको छोरा बिकूलाई गोली लाग्यो । उसको साथमा म थिएँ । गिरिजा पनि थियो ।
    ‘टटठायँ …. टटठायँ …. ।’
    ‘जय नेपाल ! जय नेपाल !!’
    राणाशाही स्टेनगन चुप लाग्यो ।

    बाग्मतीको किनारमा एउटा फोहोर धर्मशालाको कालकोठरीमा नेपालका पिताजीले बन्दी अवस्थामै मृत्युलाई अँगाल्नुपरेको थियो । भारतका बापू आगा खाँको राजभवनमा बन्दी थिए । अनि नेपालका पिताजी त्यस्तै अत्याचार भोग्दै नेपालमा नजरबन्दी थिए । भारतीय मुक्तिसँग्रामका लागि आफ्नो देशमा यसरी शहीद हुने दोस्रो उदाहरण मैले आजसम्म थाहा पाएको छैनँ ।
    मेरो छेउमा ढल्केर राणाशाहीको विरूद्धमा फायरिङ गरिरहेको त्यस सुकुमारको अनुहारमा मैले पिताजीको आत्माको झलक देखेको थिएँ । गिरिजाको अनुहारमा । पिताजीको सबैभन्दा कान्छो छोरा, हाम्रो प्यारो कान्छो भाइ …. ।
    ‘रेणु दाज्यू, जेलमाथि विजय । मालअड्डा बजारमाथि विजय । अमिनी …. सबैमाथि विजय ।’ गिरिजाले सुनाउँदैथियो । उता बिकूले भनिरहेको थियो, ‘रगत थामिएन । केही लुगा छ भने दिनोस् घाऊमा बाँध्नका लागि ।’
    राणाशाही स्टेनगनले फेरि आगो ओकल्न थाल्यो । मुक्ति सँग्रामका सिपाहीहरूले त्यसको जवाफ दिएनन् । गोरिल्ला लडाइँको नियम नै खास अलग हुन्छ ।

    विराटनगरका प्रत्येक घरमा क्रान्तिको झण्डा फर्फराउन लाग्यो । बडाहाकिम उत्तमविक्रम राणाले आफ्नो घरलाई नै युद्धको किल्ला बनाएका थिए । मुक्ति सेनाले विराटनगरका मिलहरूमाथि कब्जा गरिसकेको थियो । दुईओटा जूट मिल, एउटा सुती कपडाको मिल अनि एउटा सलाईको फ्याक्ट्री र हाईड्रो … । शहर खाली गर्ने योजना पनि चलिसकेको थियो ।
    मैले काशीमा गएर बस्नुभएकी सानीआमालाई चिठी लेखेँ, ‘बिकूलाई हवाईजहाजबाट पटना लगिएको छ । चोट सामान्य छ ।’

    यसपाली विजयादशमीमा विशेष प्रणाम पठाउने समयमा मैले सानीआमाको तस्वीरलाई गहिरो ध्यानले हेरेँ । यस्तो लाग्यो, मानौँ उहाँले सोधिरहनुभएको छ, ‘हो कि हैन ? तिमीले नै त भनेको थियौ महाराजा कवि अनि प्रधानमन्त्री कथाकार …। सँसारमा यसखालको जोडी अत्यन्तै कम पाइएको छ । साहित्यिकहरूको हातमा एउटा देशको जिम्मेदारी छ । आफ्नी सानीआमा र नेपालको सम्झना तिमीलाई अझैपनि आउँछ ?’
    कुनै जवाफ मनमा फुरेन ।

    (‘ज्योत्स्ना’ नोभेम्बर १९६१ मा प्रकाशित तथा रेणुको आत्मकथाको पुस्तक ‘आत्म—परिचय’मा सङ्कलित)

    अनुवाद : जेबी दर्लामी
    ०००