• Lumbini 24 आइतवार, पुस २६, २०७७
  • सफलताका कथा– १

    सफलताका कथा–१

    अब के गर्ने

     

    ६६ वर्षीय मलेसियाली नागरिक इस्माइल आस्हारी सन् १९८२ देखि ८५ सम्म एउटा बस कम्पनीको म्यानेजिङ डाईरेक्टर थिए जो सरकारको अधीनमा रहेको कम्पनी थियो । उनको समयमा त्यस कम्पनीमा एकहजार बसहरू सञ्चालनमा थिए । सन् १९८५ मा उनले त्यति राम्रो हुँदाछँदाको जागीर छाडिदिए । उनी भन्छन्, म व्यवसाय र कडा मेहनतमा विश्वास राख्ने मान्छे हुँ । जुन दिन उक्त कम्पनीले व्यावसायिक संरचना त्याग्यो त्यही दिन मैले पनि त्यस कम्पनीलाई त्यागिदिएँ ।
    जागीर छाडेपछि उनका अगाडि एउटा विकराल प्रश्न उभिएको थियो, अब के गर्ने ?

    तर उनी हात बाँधेर बसेनन् न त हरेश नै खाए । उनले घाटामा चलिरहेको एउटा नीजि बस कम्पनी किने । यातायात व्यवसाय त्यो समयमा गाह्रो काम थियो । थुप्रै कम्पनीहरूले सार्वजनिक सवारीसाधन चलाउनका लागि सरकारसँग अनुमति लिइरहेका थिए । तर पनि इस्माइलले हिम्मत हारेनन् । उनले आफूले किनेको कम्पनीमा ३५ ओटा बसहरू पु¥याए । सन् १९९३ सम्म ती बसहरू केही थोत्रिइसकेका थिए । उनले त्यही साल चलिरहेको यातायात कम्पनीलाई पनि बन्द गरिदिए ।
    अब के गर्ने ? यो प्रश्नले उनलाई लखेटिरह्यो । उनका पिताजी एयरफोर्समा थिए । उनको मनमा विचार आयो, साना हवाईजहाज र हेलिकोप्टरहरूको मर्मतसम्भार गर्ने वर्कसप खोल्ने । तर सोचेजस्तो काम गर्न सजिलो भने थिएन । उनी एक तालिमप्राप्त एकाउन्टेण्ट थिए, ईञ्जिनियर हैन । तरपनि उनले हिम्मत हारेनन् । यही काम गर्ने भनेर अठोट गरिसकेपछि उनले नागरिक उड्डयन विभागमा अफिसका लागि कोठा खोज्न सुरु गरे तर पाएनन् । अब के गर्ने ? परिस्थिति उनका सबै योजनाहरूको प्रतिकूलमा थियो तरपनि उनले कहिल्यै हार स्वीकार गरेनन् । उपाय खोजिरहँदा उनले त्यही विभागको नजिकै चौरमा एउटा ट्वाईलेट देखे जो प्रायः प्रयोगमा आउँदैनथ्यो । त्यो करिब २०० स्क्वायर फूटको क्षेत्रफलमा फैलिएको थियो । नागरिक उड्डयन विभागसँग उनले त्यही ठाउँ मागे । र यसपाली उनको माग स्वीकार गरियो ।

    उनले जम्मा ४ जना मानिसहरू राखेर जहाजहरू मर्मत गर्ने काम सुरु गरे । विस्तारै उनको कामको चर्चा हुन थाल्यो । प्रहरी, सेना, जलसेनालगायत सरकारी र नीजि निकायहरूबाट पनि उनको वर्कसपमा काम आउन थाल्यो ।
    अनि सन् २००६ बाट उनले जहाज चार्टर सेवा पनि सुरु गरे । उनले त्यसका लागि पुराना जहाजहरू किने । उनी हाँस्दै भन्छन्, एउटा जहाज ४२ वर्ष पुरानो छ । तर स्याहारसुसार र मर्मत निकै महत्वपूर्ण रहेको कुरा उनी बताउँछन् ।

    काम गर्दै जाँदा सन् २००७ मा उनको नयाँ अफिस सुवाङ एयरपोर्टमा खुल्यो । आज उनको कम्पनी ‘सिस्टमेटिक एवियसन’मा १७ ओटा जहाजहरू छन् जो दिनमा ६ ओटा उडान भर्ने गर्छन् । सुरुमा दैनिक जम्मा एउटा मात्र उडान हुन्थ्यो ।
    अब उनको लक्ष्य नयाँ हवाईजहाज किन्ने रहेको छ ।

    source: the Star daily, Malaysia, 10 Oct. 2016, Monday