• Lumbini 24 आइतवार, पुस २६, २०७७
  • सफलताका कथा– २

     

    बाेमन इरानी

    अभिनेता बोमन ईरानीलाई नचिन्ने यो दुनियामा को होला र ? हिन्दी सिनेमा ‘थ्री ईडियट्स’मा निभाएको जीवन्त भूमिकाका कारण उनी जुगजुगान्तर सम्झिइरहनेछन् । तर उनको सँघर्षको कथाले भने जोकसैको मनलाई द्रवित बनाइदिन्छ ।
    उनी गर्भमै छँदा उनको बाबुको देहान्त भएको थियो । आमाले एउटा सानो खाजापसलमा मेहनत गर्दै उनलाई हुर्काइन् । सानोमा उनी राम्ररी बोल्न पनि सक्दैनथे । बोल्दाखेरि जिब्रो निकाल्ने कमजोरीका कारण स्कूलमा पनि सबै सहपाठीले उनको उपहास गर्ने गर्थे । त्यही गिल्लाको पात्र बनिने भयकै कारण उनी साथीहरूबीचमा प्रायः मौन रहने गर्दथे । पछि उनले स्पीच थेरापी नै गर्नुपरेको थियो । त्यसपछि भने उनको बोलीमा केही स्पष्टता सुनिन थाल्यो ।

    किशोरावस्थामै उनले आफ्नी आमासँगै खाजापसलमा पसिना बगाउन सुरु गरे । त्यही समयमा उनले छोटाछोटा कथाहरू लेख्थे अनि पत्रिकाहरूमा छपाउँथे । साथीभाइले आफूलाई बुझ्न नसकेको अथवा आफूले उनीहरूसँग राम्ररी सम्वाद गर्न नसक्नुको उकुसमुकुसकै कारण उनले यो भावपूर्ण यात्रा सुरु गरेका थिए ।

    बोमनले २१ वर्षको उमेर पुग्दानपुग्दै होटलमा वेटरको नोकरी पनि गरेका थिए । त्यही नोकरी गर्दैगर्दा उनले एउटा क्यामेरा किनेर फोटोग्राफी गर्न सुरु गरे । आफ्नो रुची भएकोलेगर्दा उनी फोटोग्राफीमा सफल पनि भए । सन १९९० सम्ममा उनी व्यावसायिक फोटोग्राफर बनिसकेका थिए ।

    सन १९९४ मा जब उनको उमेर पैँतिस वर्ष भइसकेको थियो तब उनी नाटकमा आए । नाटकमा उनले प्रस्तुत गरेको अभिनयबाट प्रभावित बनेका सिनेमाका निर्देशकहरूले उनलाई आफ्नो छनौटमा पारे । त्यसपछि उनले मूलधारका सिनेमाहरूमा काम गर्न थाले । सन २००० पछि मात्रै उनी सिनेमाहरूमा देखा पर्न थालेका हुन् ।
    प्रतिभाशाली यी कलाकारको जीवनकथा सफल बन्न चाहनेहरूका लागि ज्यूँदो पाठशाला हो ।
    (स्रोत : विभिन्न अनलाइन मिडिया)