• Lumbini 24 सोमवार, पुस २७, २०७७
  • बाध्यता

     

    बुद्धिराम गैरे

     

    क्रान्तिका काम सकिए कि अझैपनि बाँकी छन्
    जनताका समस्या दिनहुँ झनै जटिल बन्दैछन्
    चारै चौरास रोगभोक र शोकले ग्रस्त छ यहाँ
    सहिद शब्दको अवमूल्याङ्कन हुँदैछ जहिले जहाँ

    बसी गद्दीमा डकार्नेहरू अहिले जननेता मनाएर
    भूमाफिया र तस्करहरू योजनाकार बनाएर
    विधान बनाउन जानेहरू यस्तो गर्न थालेपछि
    रीत कसले बसाल्ने हो सबै निराश भएपछि

    गरिबीका तथ्याङ्क विश्वसामु लगेपछि
    यिनकै कारणले राज्यकोष रित्ताउन लागेपछि
    थाहा पाए जनताले यहाँ थाम्न सक्ला र को
    आजादी र गणतन्त्र आज यिनकै पेवा भयो

    हाम्रा आशा भरोसामै बिते कति दिन रात
    महंगी र कृत्रिम अभावमा जनताले पाए घात
    गणतन्त्र र स्वतन्त्रताको जन्मनासाथ हत्या भयो
    आशा र भरोसाको जिन्दगी मात्रै बाँकी रह्यो

    अझैपनि जनताको रगतमाथि होली खेलिंदैछ
    आजादी र न्यायका पर्खालहरू भत्काइँदैछ
    सकी मेलापात घरमा जहान सबै जम्मा हुँदा
    मन छुने जनताका पात्रहरू बसी यहाँ रुँदा

    उठे सुक्छन् बसे सुक्छन् समस्या जनता माझ
    बिगार्नेले बिगारीसक्यो नभनेर साँझ
    नारा दर्शनमा मात्र मिठास छ काम छन् अधुरा
    काम जति अधुरा छन् कहिले होलान् पूरा

    हुन्न अब यसै बसे टुक्रिन्छ माया ममता
    शासन विधि विधान बन्ने कहिले होला समता
    अब लाग्नुपर्छ जनबलले हुरीबतास चलाउन
    लाग्न बाध्य होऔं अब कुकृत्यलाई ढलाउन