• Lumbini 24 मङ्लबार, पुस २८, २०७७
  • आमाको तासफोटो

     

    सुष्मा रानाहँमा

     

    आमाको एकतास फोटो

     

    कल्कलाउँदो, एक निर्दोष मुस्कान फुत्किएको

    पुरानो एक थान फोटो

    अथवा

    आमाको जवानीको एकतास फोटो सुरक्षित छ मसित

    आफ्नो उमेर भन्दा लगभग बीस बर्ष जेठो

    आमाको फोटो हेर्दा लाग्छ

    त्यो समयको चल्तिको ‘पोज’ मा

    आमाले एक प्रति खुशी धुल्याएको हुनुपर्छ

    कस्मेटिकको बर्णमाला नदेखेकी मेरी आमाको जोवनले

    पहाडको बैँसालु झरनाहरूमा रमाउने यौवन

    लेक–बेसीमा फुल्ने फूलहरूमा भुन्भुनाउने भमरा

    बरपीपल चौतारीहरूमा बिसाउने बटुवा

    भन्ज्याङको बिसाउनीमा

    एकैछिन् जीवनको भारी टेकाउने

    भरियाको मन नजितेको कहाँ हो र ?

    साकेला गीत गाउँदै

    जीवनको सिली फेर्दै

    रहरे सोल्टीहरूसँग नजर जुधे पनि

    बाडो प्रेमले आपाकै मन जितेर

    आमाको गर्भबाट जन्मिएको त हुँ म

    आमाकै काखमा हुर्किएर आइपुगेँ

    ति समुन्द्रहरू तरेर यहाँसम्म

    आज मेरै खुशीलाई पछ्याउन

    आफ्नो चाउरिएका रेखाहरू लम्काइरहेकी छन्

    अझैसम्म एकटुक्रा साहसलाई नटुक्राई

    थुप्रै रहरहरू फुत्किसकेको अङ्गालो फिजाएर

    पर्खिरहेकै छ टाढिएका मुटुहरूलाई अङ्गाल्न

    अहिले दशकौँ पछि फेरि फर्केर

    आफ्नै सोह्रबर्षे जोवन हेर्न खोज्दिहुन् आमा

    जिन्दगीको पाना पल्टाएर

    खै ! त्यहाँ के के देख्दीहुन् र

    बर्षौ दुःखका चाङ्हरूको रमिता हेरेर थाकिसकेका

    खडेरीमा समेत बर्षिरहने आँखाहरूले

    आफ्नै छाया पनि धमिलो–धमिलो बाहेक

    कल्कलाउँदो एक निर्दोष मुस्कान फुत्किएको

    पुरानो एक थान फोटो

    अथवा

    आमाको जवानीको एकतास फोटो सुरक्षित छ मसित

    र अहिले आमाको त्यहीँ फोटोमा आफुलाई हेरिरहेकीछु म ।

    आमाको तासफोटो सुष्मा रानाहँमाको भर्खरै प्रकाशित कवितासंग्रहको नाम हो । 
    नेपाली कविता लेखनमा उज्यालो सम्भावना बोकेर उनको पदार्पण भएको छ । 
    कविको अनुमतिले यस संग्रहभित्रको शीर्ष कविता हामीले लुम्बिनी ट्वीन्टी फोरमा साभार गरेका हौँ ।