• Lumbini 24 मङ्लबार, पुस २८, २०७७
  • भूगोल मेटिएको चिन्ता

     

    भगवती पौडेल

    नेपालको लुम्बिनी अञ्चल अर्घाखाँची जिल्ला किमडाँडा गाउँबाट विश्वको शक्तिराष्ट्र अमेरिकामा हुँदा हामी जन्मिएको भूगोल मेटिएको महसुस भएको छ । यो विशाल राष्ट्रमा मानिसहरु हराउँदैनन् भन्ने पक्का छ । बिडम्वना यो छ कि हामी जन्मिएको भूगोल हरायो । तपाईं र म पनि त्यहाँबाट हराईरहेका छौँ ।

    हाम्रो पहिचान हामीले टेकेको भूमि र हाम्रो जन्म दिने मातापिताको परिचयबाट सुरु हुन्छ । तर केही वर्ष देश बाहिर बसेर आफ्नो देश फर्कँदा गाउँको नाम र ठाउँको नाम फेरिन्छ भने हामीले हाम्रो परिचय कसरी गर्न सक्छाँै ? हामीले हाम्रो घर र परिवारको थर कसरी मेट्न सक्छौँ ? हजुरबा र हजुरआमाले रोपेका बर पीपलको चौतारी नै मासेर बनेको बाटो हरियो घाँस र रुखबिरुवाको सट्टा माटैमाटो छ भने मलाई र तपाईंलाई मात्र होइन जो कोहीलाई पनि हराएको महसुस हुन्छ ।

    यहाँ उठान गर्न खोजेका विषयवस्तु देखेर कसैलाई लाग्न सक्छ, गर्ने केही होइन गफ दिन, फुर्ति लाउन र गरिसकेको कुराको विरोध गर्न मात्र धेरैको बानी परेको छ । हामी सबैलाइ थाहा भएको कुरा हो, बिक्रम सम्वत २०७४ अर्थात् सन २०१७ भन्दा पहिले जन्मिएका हामी सबै नेपालीले हाम्रो ठेगाना गुमाएका छौँ । हामीले पढेको हाम्रो भूगोल नै मेटिएको छ । परिवर्तनका नाममा पहिचान नै मेटाएर पहिचानको खोजी कसरी गर्ने हो ? यो तपाईं हामी सबै नेपालीहरुको चुनौती हो ।

    हुलाकको पत्र बोकेर हामीले स्कूल पढ्न सुरु नगर्दै हुलाकी घर–घरमा गएर चिट्ठी बुझाएको हामी सबैलाई याद छ । सञ्चार जगतले फड्को मारेर हरेक कुनालाई जोडेको युगमा पनि आज हामीले अमेरिका, साउदी, कतार या अन्य युरोपियन मुलुकबाट हाम्रो बुवाको नाममा चिठ्ठी पठाउने भरपर्दो ठेगाना छैन, आमालाई सानो उपहार पठाउने सजिलो माध्यम छैन ।

    हाम्रा परिचयपत्रहरु नागरिकता, सर्टिफिकेट, मार्कशिट र अन्य प्रमाणपत्रहरु सबै फेक (नक्कली) जस्ता देखिन थाले । यी ठेगाना फेरिएका प्रमाणपत्रहरुको वरिपरि बसेर हाम्रो जन्मभूमी नियालेर अहिले बनेका प्रदेश र पालिकाका कुरा सुन्दा साँच्चै हामी हराउँछौ । घर छोडेर बाहिर नगएकाहरुलाई यस्तो महसुस नहुन सक्छ तर, बाहिर जानेहरुलाई आफ्नो पहिचान गुमेको देखेर साँच्चै भन्ने हो भने एकछिन विक्षिप्त जस्तो महसुस हुन्छ ।

    ‘नेपाली पात्रो’ समाचारको एप्स हामी धेरैले कोट्याउँछौँ । ‘मालारानी गाउँपालिकामा बाँदरको बिगबिगी’ अनि ‘भूमिकास्थान गाउँपालिकामा बाघले बच्चा मा¥यो ।’ खुरुखुरु समाचार पढिन्छ । हामीलाई पत्तै हुदैन यी घटना कहाँ घटेका छन ? हामीले पढेको भूगोलका जिल्ला र अञ्चल केहीको नाम त्यहाँ नहँुदा नेपालको कुनै ठाउँ होला भनेर हाम्रो दिमाग नक्शामा डुल्न सक्दैन । एकछिनपछि फेसबुक लगईन गरेर हेर्दा सुरुमै मामाको छोराको टाइमलाइनबाट बाघले मारेको बच्चाको समवेदना र भाउजुकी बहिनीले शेयर गरेको बाँदरको हमलाको भिडियो देखेपछि ‘ए, यो त हाम्रै ठाउँ रहेछ’ भन्नुपर्ने अवस्था आएको छ । हामी झसङ्ग हुन्छौँ । अखबारका हेडलाईन खबरहरु त आफ्नै भूमि वरपरका पो रहेछन् ! सबैले एकपटक आफैलाई सोधौँ, साँच्चै हाम्रो मानसपटलको भूगोल किन मेटिएन तर, हाम्रो देशको भूगोल सजिलोसँग किन मेटियो ?

    माफ गर्नुहोला, यहाँ अलिकति आफ्नो कुरा राख्न चाहँे । म ३० वर्षभन्दा बढी समय नेपालमा बसेँ । नागरिकतामा म जन्मिएको ठाउँ ‘किमडाँडा ३, अर्घाखाँची, लुम्बिनी नेपाल’ ठेगाना छ अहिले पनि । मेरो जीवनको लामो समयमा नेपालका विभिन्न ठाउँहरु सन्धिखर्क, कीर्तिपुरको भत्केपाटी, ईश्वरी कन्या छात्रावास, काठमाडौंको शंखमूल, सामाखुशी, ललितपुरको हरिसिद्धी लगायत पूर्व मोरङको विराटनगर र पश्चिम बाँकेको नेपालगञ्ज समेत बसोबास गरेकोले यी सबै ठाउँका नक्शा मानसपटलमा ताजा छन् । दुःखको कुरा यो छ कि मैले वर्षौं बिताएका ती सम्पूर्ण मेरा ठेगानाहरु भूगोलबाट नै मेटिएका छन् । यो सम्झिएर राति ब्यूँझिदा पनि चिन्ता लागिरहन्छ । पक्कै पनि यस्तै इतिहास हामी धेरैका उस्तै उस्तै छन् ।

    अब कुरा गरौँ अमेरिकाको । प्राविधिक तरिकाले व्याख्या गर्न त म सक्दिनँ । सामान्य अवलोकन र भोगाईबाट पनि धेरै कुराहरु थाहा लाग्दोरहेछ । नेपालमा म जन्मिएको मिति भुल्यो भनेपनि मलाई केही फरक पर्दैन तर, अमेरिकामा मैले पाईला टेकेको दिन मैले भुल्न पाउदिनँ । म यहाँ आएको वर्ष र अक्टुबर ४, पटक–पटक बोल्नुपर्छ मैले । त्यस्तै म यहाँ कुन–कुन ठेगानामा बसोबास गरें, त्यो पनि भुल्न पाउदिनँ मैले । यहाँ घर बनाउनु पहिले नै त्यो घरको ठेगाना आउँछ भने बच्चा जन्मनुपहिले नै त्यो बच्चाले नाम पाउँछ ।
    हरेक घरमा पुग्ने बाटोको अगाडि त्यो घरको नम्बर लेखिन्छ । उदाहरणको लागि २५३३ (घर नं.) रुबी ड्राइभ (बाटोको नाम) अपार्टमेन्ट नं. २०३ (फ्ल्याट नं. वा कोठा नं.) फुलर्टन (सिटि वा नगर) सि. ए. (क्यालिफोर्निया ( राज्य र प्रान्त) ९२८३२ (क्षेत्र नं.) अर्थात् अंग्रेजीमा पूरा ठेगाना लेखिन्छ ।

    त्यो मेरो पहिलो ठेगाना थियो भने अहिलेसम्म यस्ता ७ भन्दा बढी ठेगानामा म बसिसकेकी छु । सबै ठेगाना मैले बिर्सन पाउँदिन अर्थात् डायरीमा लेखेर नै राख्नुपर्छ । म एक ठाउँबाट अर्को ठाउँमा सरेर जाँदा कम्तिमा पनि लगत्तै पहिलेका ३ ठेगाना त सम्झिएकै हुनुपर्छ मैले । मेरो हरेक सम्बन्धित कार्यालयहरु (बैंक खाता, कलेज, काम गर्ने कम्पनी र अन्य सरकारी कार्यालय) मा ठेगाना राखिएको हुन्छ । ती ठेगानाबाट कुनै न कुनै बहानामा मेरो नाममा चिठ्ठीहरु आइरहन्छन् । तर, आजको भोलि म कुनै नयाँ ठेगानामा सरेँ भने पनि मेरा कुनै कागजपत्र र चिट्ठीहरु हराउँदैनन् । मैले मात्र हुलाकलाई मेरो नयाँ ठेगाना दिए पुग्छ ।

    यति भनिसकेपछि म, तपाईं या जोकोही अमेरिकामा हराउँदैनौँ, यो पत्याउनैपर्छ । तर, आज हाम्रो नेपालको ठेगाना हराएको छ । तपाईं हामीले पहिलो पाईला टेकेको भूमि हराएको छ । तपार्इं हामीले पढेको भूगोल मेटिएको छ । योभन्दा ठुलो केको चिन्ता गरौँ ? यदि देशको चिन्ता छ र बनाउने इच्छा छ भने पहिले आफ्नो ठेगाना पक्का बनाउँ, जुन कसैले मेटेर नमेटियोस् । पुर्खाले कोरेका नाम र नक्शाहरुमा रङ भरेर सिँगार्न मात्र सक्ने हो भने सारा नेपाली स्वर्गका नागरिक भनेर चिनिनेछन् ।

    यहाँ मैले अमेरिकाको बयान गरेर नेपालको दुःख कोट्याउन खोजेको पटक्कै होइन । न त जन्मभूमि र कर्मभूमिको तुलना गर्न खोजिएको हो । हाम्रो स्वर्गजस्तो जन्मभूमिको कुनै अन्य भूमिसँग तुलना नै हुनसक्दैन । बस् कुरा सोचको हो । अहिले गूगल नक्शाको सहयोगले कहाँ घर छन्, कहाँ सहर छन्, कहाँ जङ्गल छन्, कहाँ नदीनालाहरु, ताल पोखरीहरु छन्, सजिलै थाहा पाउन सकिन्छ । कुनैपनि अपरिचित ठाउँ पुग्नुछ भने हामी सबैको हात–हातमा रहेको सेलफोनलाई सही ठेगाना दिएर अह्राउनु मात्र पर्छ घर–घर पु¥याइदिन्छ ।

    पुरानो नेपाल नयाँ बनाउन खोजेका हामी सबैले जिम्मेवार महसुस गर्नुप¥यो । अब शदियौंदेखि पहिचान बोकेका गाउँहरुमा बसोबास गर्ने एक–एक घर परिवारको ठेगाना तय गर्न बिलम्व भैसक्यो । पुर्खाले कोरेको नक्शाको रक्षा गर्न त सकेनौं नै, अब कहिल्यै नमेटिने नक्शा नबनेसम्म हामी सधंै हराउँछौं । हाम्रा सन्तति पनि हराईरहने छन् । यसकारण यतिखेर भूगोल मेटिएको चिन्ता छ ।

    (अर्घाखाँची, हाल : टेक्सस अमेरिका)