• Lumbini 24 बुधबार, माघ ७, २०७७
  • साहित्यको त्रिवेणी संगम

    विष्णुबहादुर सिंह

     

    गोरुसिंगे–सन्धिखर्क सडक पिच भए पछि मलाई अर्घाखाँची जाने साइत जुरेको थिएन । त्यो साइत ‘त्रिवेणी’ त्रैमासिकले जुराई दिएको थियो । त्रिवेणी साहित्यिक त्रैमासिकले एउटा साहित्यिक कार्यक्रम गर्ने जमर्को गरेको रहेछ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा । धेरै वर्षसम्म साहित्यिक गतिविधिबाट अलि ओझेलमा रहेको सन्धिखर्कलाई ‘त्रिवेणी’ले समेट्न खोजेको रहेछ । ‘त्रिवेणी’ को शायद यो पहिलो विशाल कार्यक्रम थियो ।
    धेरै पटक त्रिवेणी त्रेैमासिकका सम्पादक श्री तिलकराज चुँदालीसँगको टेलिफोन वार्ता र निम्तोपत्र पाए पछि ‘त्रिवेणी’ को कार्यक्रममा सहभागिता हुनेगरी निम्तो स्वीकारेको थिएं । त्यसरी अर्घाखाँची जाने मेरो कार्यक्रम तय भएको थियो । हुनत हाम्रो निम्तोमा अर्घाखाँची जाने काठमाण्डौंका प्रसिद्ध साहित्यकारहरुसँग अनौपचा्िररक छलफल पनि नभएको होइन । डा.धु्वचन्द्र गौतम, गजलकार वियोगी बुढाथोकी, उपन्यासकार शंकर भारती, साहित्य प्रेमी मोहन बुढाथोकी आदिले अर्घाखाँची जाने रहर नगर्नु भएको पनि होइन । तर अर्घाखाँचीमा हुने ‘त्रिवेणी’ को कार्यक्रम विशुद्ध रुपमा अर्घाखाँचीका साहित्यकारहरुको जमघट, भेटघाट र अर्घाखाँचीका साहित्यकारहरुलाई कसरी साहित्यको यात्रामा अग्रगमनतर्फ धकेल्न सकिन्छ र कसरी अर्घाखाँचीका साहित्यकारहरु बिच एउटा साझाबाटो बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने कार्यक्रममा अर्घाखाँची इतरका साहित्यकारहरुलाई पछि कुनै कार्यक्रममा लैजाने गरी यस पटक म र ठाकुर बेल्वासे अर्घाखाँचीतर्फ लागेका थियौं दशैंको लगतै अर्थात पूर्णिमाको भोलिपल्ट ।
    थानकोट, नौविसे, मलेखु, मुगलिन हुँदै हामी नारायणघाट पुग्दा दिनको ११ः०० बजिसकेको थियो । गाडी चालक बलराम ठकुरीले गाडीलाई पूर्ण नियन्त्रणका साथ चलाईरहेका थिए । रामनगरबाट मैले चितवनका पुष्प अधिकारी ‘अंजली’, गोर्खेसाइलो, हरि चालिसे ए.बी.सी.लाई फोन गर्दा पुष्प अधिकारीसंग ठयाक्क मोवाइल सम्पर्क भयो अन्य संग सम्पर्क हुन सकेन । हामीहरुले नारायणगढको चितवन क्याफेमा खाना खाने बेला पुष्प अधिकारी र हरि चालिसे ए.बी.सी.संग गफगाफ गर्ने मौका पनि पायौं । सुदूर पश्चिमको कार्यक्रम सकेर फर्कने क्रममा कपिलवस्तुमा भएको घटनाले कसरी वहाँहरु अर्घाखाँचीको बाटो नाप्नु भएको रहेछ त्यो कथा ब्यथा पनि जान्न पायांै । रमाइलो नै भयो, त्यो भेटघाट पनि । सम्झनाकोे लागि फोटोहरु पनि खिच्यौें, केही पत्र पत्रिकाहरुको आदान प्रदान पनि भयो ।
    बुटवल पुग्दा ठिक २ः०० बजेको थियो । प्रसिद्ध साहित्यकार एवं गजलकार वुँद रानालाई हामीले ठिक २ः०० बजे बुटवलको चोकमा भेटने गरी समय मिलाएका थियोै । हाम्रो बुटवलमा ठिक समय र स्थानमा भेट भयो त्यसको श्रेय पनि मोवाइललाई दिनु पर्छ । अहिले भेटघाटका कार्यक्रमहरु मिलाउन मोवाइलले अहम भूमिका खेलेको छ ।
    बुटवलबाट हामी सिधै गोरुसिंगेतर्फ लाग्यौं । हाम्रो गाडी जसरी एउटा रफ्तारमा कुँदिरहेको थियो, त्यस्तै गरि गाडीमा रहेको संगीत पनि त्यसरी नै घन्किरहेको थियो । हाम्रो गफगाफ पनि त्यसरी नै तातिरहेको थियो । गफगाफको विषय विविध हुन्थ्यो । राजनीति, साहित्य, विकास र विनास । मुख्य वुँदाहरु यिनै थिए । ड्राईभर बलराम ठकुरीले निरन्तर गाडी हाँकिरहेका थिए ।
    गोरुसिंगेबाट हामी उत्तरतर्फ हानिदै थियौं । धेरै पटक हिंडेको, नापेको, गुडेको बाटो हो यो । विद्यार्थी कालमा जब म अर्घाखाँचीको ज्योति मिडिल स्कूलबाट ८ कक्षा पास गरे पछि कपिलवस्तु, तौलिहवाको बुद्धपद्म हाइस्कूलबाट पढ्न थाले पछि धेरै पटक त्यो बाटो मैले पैदल नापेको पनि थिएं । मावलीहरुको टिकरमा जग्गा थियो, त्यहाँका थारुहरुसंगको संगत पनि मैले त्यही बेला पाएको थिएं । एक किसिमको सम्वन्ध गाँसिएको थियो । जुकेना कल्लेरी हाम्रो गाउँबाट त्यो बेला हिउँदताका गाई भंैसीहरु लिएर आउने गरिन्थ्यो, २–३ महिना जाडो छल्न र गाई बस्तुलाई आहार खुवाउन । ब्यापारको केन्द्र विन्दु थियो पत्थरकोट बजार । ढाक्रेहरुको भिड लाग्थ्यो । गाउँ गाउँबाट टिनका टिन घिउ ल्याउने र त्यसलाई बेचेर नून, लुगाफाटा किन्ने चलन थियो त्यो बेला, रात भरी लोक दोहोरी घन्किन्थ्यो ।
    आजभोलि गाउँ गाउँमा त्यो सुविधा पुगिसक्यो भन्दा पनि हुन्छ । नून, तेल गाउँघरमा पाउन सुरु भईसक्यो । गाउँ गाउँमा धुले बाटाहरु पुगिसके । अर्घाखाँची र इलाम त्यस्ता जिल्लाहरु हुन जहाँ प्रत्येक गा.वि.स.मा हिउँदयाममा ट्रयाक्टर, जिप पुग्छन । आज अर्घाखाँचीबाट राजधानी काठमाण्डौं पुग्न १२ घण्टा पनि लाग्दैन ।
    बसन्तपुर, भेलाई र टिकरमा मेरा धेरै नातागोताहरु बसेका छन, हाम्रो जग्गा जमिन पनि छ । भेटघाट गर्न थालियो भने २–४ घण्टाले पनि पुग्दैन । त्यसैले जेठी बहिनीको घरमा संधिखर्कबाट फर्कंदा भेट गर्ने खवर दिंदै हामी उत्तरतर्फ लागेका थियोैं । बा आमा पनि केही दिनको आरामको लागि टिकर आउनु भएको खवर पाएको भए पनि हाम्रो गन्तब्य स्थलसम्म पुग्न कठिनाई हुने भयले हामी वसन्तपुरबाट टिक्करतर्फ नगई राजमार्ग हुँदै पत्थरकोट अनि अर्घाखाँचीको बाटोतर्फ लम्किएका थियौं ।
    अर्घाखाँचीको ठाडा मेरो मावली गाउँ हो । मैले ८ कक्षा सम्मको शिक्षा जुकेना र ठाडामा अध्ययन गरेको छु । जुकेनाको पढाई त्यति सम्झना नभए पनि ठाडाको ज्याेित मिडिल स्कूलमा पढ्दाका प्रत्येक पलहरु मेरो मानसपटलमा आइरहन्छन । अमराईमा मावलीको पसलबाट मिस्री,भेली चोरेर खाएको, स्कूलमा पढ्दा सधै नै गुरुहरुबाट पाएको हौसला, हजुरबुवा, आमा र मामाहरुको न्यानो माया विशेष गरी कान्छा मामा झवेन्द्रको सद्भाव आदि मेरा मनका अविस्मरणीय क्षणहरु हुन् जुन कुरा म बिर्सन खोजेर पनि बिर्सन सक्दिन ।
    ठाडा अमराईमा पुग्दा त्यस्तै दिनको साढे तीन जति भएको थियो । अमराईमा म आउने खवर बिहानै गणेशलाल मार्फत भएको रहेछ । केही इष्टमित्र भेटघाट र केही विद्युत सम्बन्धी विषयमा छलफल गर्न मलाई कुरेर बसिरहनु भएको रहेछ ।
    गाडीबाट ओर्लिएपछि हामीहरु एउटा चिया पसलमा चिया खान पस्यौं । मेरा इष्टभित्रहरु त्यहीं पाल्नु भयो । ठूलामामा हुमबहादुर बेल्वासे, श्री धर्मराज अधिकारी लगायत अन्य मावली तर्फका नातागोताहरु पनि आउनु भयो । चिया र नास्ताको अर्डर भयो । चियामा चिनी सहित र चिनी विनाको अर्डरले साहुजी केही अलमलमा परेको जस्तो भान हुन्थ्यो ।
    दाजु वुँद राना र ठाकुर बेल्वासे धेरै बेर मुसुमुसु हाँसिरहनु मात्र भयो । उहाँहरु हाँस्नुको कारण नबुझे पनि हामीहरु पनि होष्टेमा हैसे भने जस्तै हाँसोमा हाँसो थप्यौं ।
    “विशेष खालको चिया खाइयो सिंहसरको मावली गाउँमा ।” वुँदरानाको प्रतिकृयामा ब्यंग्यता झल्कन्थ्यो ।

    “कस्तो विशेष खालको होला ।” मेरो जिज्ञासा जाग्ने नै भयो ।

    “दाईको गाउँघरमा मान्छे अनुसार ब्यवहार हुने रहेछन् । ” ठाकुर बेल्वासेले ब्यंग्य माथि ब्यंग्य थपेको आभाष भएको थियो मलाई ।

    चियामा या त रंग बढी भएको होला या चिनी बढी भएको होला, शायद चिया पत्ति पुरानो पर्यो कि ? यिनै मनका तर्कनाहरुसंग म रुमली रहेको थिएं । वास्तवमा चिया राम्रै रहेछ तर त्यसको मात्रा यति कम रहेछ कि दुई सर्को मै भ्याइने ।

    “स्थानीय ब्यक्तिहरुलाई गिलास भरि चिया दिने, हामी बाहिरबाट आएकालाई किन त्यति कम चिया दिएका रहेछन् ?” वुँद रानाको जिज्ञासा मतर्फ तेर्सिएको थियो ।
    “दाई मलाई थाहा भएन, पहिले पहिले यस्तो चलन थिएन । समय र परिस्थिति फेरिएछ कि ?” मैले यो वाहेक अर्को कुनै तर्क दिन सकिरहेको थिइन ।
    गफ गर्दागर्दै ठाडाको दहमा पुगेका छौं । बिच बाटोमा गफको लहै लहैमा मैले पढेको वरबोटमा अवस्थित ज्योति विद्यालय र ठाडाको थुम्कोको माइस्थान वुँद राना र ठाकुर बेल्वासेलाई देखाएको थिएं । ठाडाको मनोरम दृश्यहरुले वहाँहरुलाई मोहनी लगाउन थालिसकेको रहेछ ।
    ठाडाको महत्व भनेकै ठाडाको दह हो । पहाडमाथि विशाल प्राकृतिक तालमा पुगेपछि नरमाउने कमै होलान् । यस प्राकृतिक दहबारे मैले ‘ठाडाको दहमा’ नामक गीती संग्रह वि.सं. २०५७ सालमा नै प्रकाशित गरिसकेको छु । ठाडाको दहको उत्तरतर्फ मेरा स्कूलदेखि कै सहपाठी हुनुहुन्छ – श्री गणेशलाल श्रेष्ठ । वहाँसंग भेटघाट नभएको पनि धेरै भईसकेको थियो । त्यसैले ठाडाबाट सिधै संघिखर्क जाने बाटोबाट मोडिएर गणेशजीको घर÷दुकानतर्फ लागेका थियौं । कसैको घरमा पुग्दा साथ चिया खाने प्रसंग आइहाल्ने नै भयो । हामीलाई अमराईमा खाएको चियाले धित मरेकै थिएन ।
    “चिया गिलास भरि नै बनाउनु होला है ।” मेरो गणेशजीको परिवारलाई आग्रह थियो ।
    वहाँले बुझनु भयो, बुझनु भएन, थाहा भएन तर त्यहाँ पनि हामीले सोचे अनुसारको चियाको मात्रा पाउन सकेनौं । चिनी नखानेलाई चिनी हालेको चिया पर्यो भने खुवै चिनी हालेर खानेलाई विना चिनीको चिया पर्यो । हडवड हामीलाई मात्र होइन, घरका सबै परिवारलाई परेको देखिन्थ्यो ।
    ठाडाबाट विदा भए पछि हामी सिधै संधिखर्कतर्फ हुंईकिएका थियौ । एक जना भाइ ठाडाबाट सीतापुरसम्म जानका लागि चढेका थिए । सीतापुर पुगेपछि ओर्लिए । आफनो घर गाडीबाटै देखाए । विद्युतको समस्याबारे दुई चार गुनासाहरु पोखे । अहिले विद्युतको महत्व धेरैले थाहा पाएछन् , खुशी लाग्यो ।
    सुपाको उकालो र नागवेली सडक पार गर्दै हामी अर्घाखाँची जिल्लाकै प्रसिद्ध मंदिर सुपा देउरालीमा पुग्दा साँझको ४ः०० बजि सकेको थियो । बाटो पनि पिच भएको धेरै वर्ष नभए पनि केही ठाउँमा विग्रिसकेको रहेछ र सुपा देउराली निर करिब एक किलोमिटर जति पिच गर्न पनि वाँकी नै रहेछ । एक किलोमिटर बाटो पिच गर्न वाँकी राख्नु पर्नाको त्यस्तो कुनै तुक देखिएन वरु सम्पूर्ण बाटो पिच भए पनि त्यति बाटो पिच नहुँदा अलि खल्लो खल्लो लाग्यो । सुपा देउरालीमा भाकल गरेपछि भाकल पूरा भयो भने त्यो भाकल पूरागर्न आफै जानु पर्दछ नत्र भने श्राप लाग्दछ भन्ने जनश्रुति रहेको छ । भाकल गरेर भाकल पूरा नगर्नेहरु सुपा देउरालीको चट्टाने भिरमा टाँसिएको किंवदन्ती पनि सुन्न पाइन्छ । म सुपा देउरालीलाई अत्यन्त आदर गर्दछु । मलाई विश्वास पनि छ सुपा देउरालीको शक्तिप्रति ।
    सुपा देउरालीमा दर्शन आदि गरेपछि हामीहरु नरपानी हुँदै भुवनडाँडामा पुगेपछि पेट कराएको महसुस पनि भएको थियो । नरपानीमा सिमेण्ट कारखाना खोल्ने हल्ला धेरै वर्ष देखि भएको भएता पनि कारखानाको बदला त्यहाँका ढुंगाहरु पहाड नै खोदलेर कपिलवस्तु तर्फ लगिंदै गरेका ठूला ठूला ट्रकहरु चाहिं बाटाभरी देखियो । बाटो बिगार्नमा त्यस्ता ठूला ठूला लोडेड ट्रकहरुको ठूलो योगदान रहेको प्रत्यक्ष रुपमा देख्न पनि पाइयो । विद्युत पनि पुगिसकेको अवस्थामा अब कारखाना त्यहीं बन्नु पर्छ – हामी सबैको एउटै धारणा थियो ।
    भुवनडाँडामा हामीहरुले नेपाली पाराको नास्ता खायौ । मासु, भुजा र विजुली पानी ।

    दाई वुँद रानालाई लोकल मन पर्दोरहेछ । फेरि नेपाल विद्युत प्राधिकरणमा काम गर्ने र धरैले चिन्ने भए पछि जहाँ पुगे पनि विद्युतको समस्याले मलाई पछयाई नै रहन्छ । त्यो ठाउँको विद्युतको समस्या बारे पनि स्थानीय वासीहरुबाट जानकारी भयो । गर्न सक्ने सहयोग गर्ने बचन पनि दिइयो ।
    भुवनडाँडाबाट सन्धिखर्क नपुगुन्ज्याल हामी विविध साहित्यिक गफगाफमा मस्त रहयांै । वीरगंजमा ठाकुर बेल्वासेले कविता प्रतियोगितामा प्रथम स्थान नपाएको झोंकमा होटलमा सयांै गमला पुटाएको कथा फूर्तिसाथ सुनाउनु भयो । राष्ट्रकवि माधव घिमिरेसंगको कथा ब्यथा सुनाउनु भयो भने हामीहरुले अहिले नेपाली साहित्यमा यदाकता देखिने विकृति र अर्घाखाँचीको समग्र साहित्य र त्यसमा मोदनाथ प्रश्रितले खेल्नुपर्ने भूमिकामा कहीं कतै केही कमी देखिएको सम्वन्धमा छलफल गर्दा नगर्देै हामी ५ः३० बजेतिर तिलकराज चँुदालीको घर आगनको डिलमा पुगिसकेका थियौं ।
    तिलकराज चुँदालीको घरको आतिथ्य भित्र पस्दा नपस्दै हामीहरुलाई शुद्ध दूधले स्वागत गरिएको थियो । अर्को दिनको कार्यक्रम बारे पनि केही मात्रामा छलफल भयो । त्यस पछि हामी सन्धिखर्क बजारमा रहेको मेरो सानोबुबा प्रेमबहादुर कार्कीको घरमा पुग्यौं । चियापान र गफगाफपछि वुँद राना र ठाकुर बेल्वासेलाई होटल संगममा पुर्याई म सानाबुवाकै घरमा केहीबेर पछि खान बस्न फर्र्किएं । संगम होटलका प्रोप्राईटर श्री बाबुराम पंथीले नास्तापानी छोटो समयमा फूर्तिसाथ तयार पारिदिनु भयो । त्यहाँ गफगाफ, आत्मीयता प्रकट गरियो ।
    अर्को दिन अर्थात २०६४ कार्तिक १२ गतेका दिन हामीहरु सबेरै वाङ्लातर्फ लाग्यांै । वाङ्ला मेरो ससुराली तथा बहिनीको गाउँघर पनि हो । माइली सानीआमाको गाउँघर पनि हो । एक प्रकारले नातै नाता भएको गाउँ हो भन्दा पनि हुन्छ । चन्द्रकान्त आचार्यसंग वाङ्लामै भेट भई त्यहाँ पनि चियाको साटो दूध खायौं । वाङ्लालाई देखेर वुँदराना जी ज्यादै रमाउनु पनि भयो । सर्लक्क परेको डाँडो, सम्मा वारीहरु, तल ठूलो फाँट । क्या मिलेको गाउँ । प्रजातन्त्र सेनानी स्व. यज्ञप्रसाद आचार्यको घरको पाहुना हुँदा मन फुरुङ्ग जस्तै भयो ।
    ससुराली घरसम्म पुगेर चिया नास्ता गरेपछि बहिनीको घरमा भेटघाट गरी हामीहरु फर्कने क्रममा मोती पुस्तकालयको अवलोकन पनि ग¥यौं । मोती पुस्तकालयलाई मैले धेरै पुस्तकहरु पनि पठाएको थिएं । ब्यवस्थित रुपमा राखिएको देख्दा खुशी पनि लाग्यो । २०१७ सालमा शहिद भएका श्री मोती भुसालको नाउँमा खोलिएको पुस्तकालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गयांै र फेरि संधिखर्क फर्कियौं । त्यतिन्जेलसम्म वाङ्ला, बलकोट पुगेर आजको कार्यक्रममा प्रमुख अतिथि श्री मोदनाथ प्रश्रित पनि संधिखर्क फर्किसक्नु भएको रहेछ ।
    संधिखर्कको साहित्यतर्फको पहिलो कार्यक्रम भने पनि हुन्छ । त्रिवेणी त्रैमासिकले आयोजना गरेको कार्यक्रम । प्रमुख अतिथि वरिष्ट साहित्यकार श्री मोदनाथ प्रश्रित, विषेश अतिथिका रुपमा मलाई चयन गरेका रहेछन् भाईहरुले, सहश्र स्वीकार गरें । अतिथिहरु वुँद राना, ठाकुर बेल्वासे, राजेन्द्रकुमार आचार्य, उत्तरकुमार पराजुली, युगलनारायण बसेल, माधवराज चुँदाली, चन्द्रकान्त आचार्य आदि एक एक गरी मञ्चमा बोलाउनु भएको थियो । तिलकराज चुँदालीको संचालन तथा मोती खनालको सभापतित्वमा कार्यक्रम सुरु गरिएको थियो ।
    साहित्यिक कार्यक्रम ब्याकुल माइलाद्धारा रचित राष्ट्रिय गानबाट सुरु भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्री मोदनाथ प्रश्रितबाट भएको थियो । श्री हिमबहादुर जी.सी.को स्वागत र अन्य केही महानुभावहरुको मन्तब्यका साथ सुरु भएको साहित्यिक कार्यक्रममा सपना सुन्दर, अशोककुमार क्षेत्री, अंजान लामिछाने लगायतका करिब ३० जना कवि कवयत्रीहरुबाट जोशिला र समसामयिक कविताहरु वाचन गरिएका थिए । आयोजकले वुँद रानाको संयोजकत्वमा मलाई र ठाकुर बेल्वासेलाई मूल्यांकन समितिमा मनोनयन गरेको घोषणा लगत्तै हामीलाई थप जिम्मेवारी सुम्पिएको महसुस भयो । प्रत्येक कविताको मूल्यांकन गर्न हामी ब्यस्त भयौ ।
    कार्यक्रमको बिच बिचमा मन्तब्यहरु दिने क्रम चलिरहेको थियो । कवि ठाकुर बेल्वासेले जिल्लाका राजनीतिक पार्टीका प्रनिनिधिहरु र प्रशासकहरुलाई त्यो दिन वाचन गरिएका कविताहरु सुनाउन पाएको भए तिनीहरुलाइ तीतो मीठो जे भए पनि खुराक मिल्थ्यो कि भनेर वडो जोशिलो, रोशिलो मन्तब्य प्रकट गर्नु भयो । साहित्य कुनै एउटा विचारबाट प्रेरित हुनु पर्दछ । यो उहाँको स्पष्ट विचार थियो । विचार प्रकट गर्नुहुनेहरुमा श्री माधवराज चुँदाली, युगलनारायण बसेल, राजेन्द्रकुमार आचार्य, उत्तरकुमार पराजुली, चन्द्रकान्त आचार्य आदि हुनुहुन्थ्यो ।
    मूल्यांकन गरेर प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कारको घोषणा गर्नु ज्यादै अफ्ठ्यारो कार्य हुनेनै भयो । तै पनि हामी तिनै जनाको मूल्यांकनमा मात्र १९÷२० को फरक देखिन्थ्यो । तापनि पछि हामीहरुको एउटै राय भयो । त्यो दिनको छलफल, मन्तब्य पछि हामीले प्रथम, द्वितीय, तृतीय र सान्त्वनाका लागि क्रमश ः श्री प्रवेश आचार्य, सुश्री प्रभाती ‘किरण’, श्री राम वसु, श्री सुन्दर शर्माका नामहरु सिफारिश ग¥यौ । रमाईलो के भयो भने ती नामहरु समावेशी पनि हुन पुगेछन् ।
    कार्यक्रम अविरल रुपमा चलिरहेको थियो । करिब साढे बाह्रबाट सुरु भएको कार्यक्रम ५ः०० बजेसम्म पनि सकिएको थिएन । वुँद रानाको जोशीलो झ्याम्म झ्याम्म र गजल वाचनले पूरा हल गुन्जायमान भएको थियो । मैले ‘मेरी आमा’ कविता बाचनका साथै त्रिवेणी साहित्य त्रैमासिकले गरेको प्रयासप्रति आफनो पूर्ण समर्थन रहेको र जिल्लामा गरिने साहित्यिक कार्यक्रमहरुमा त्यहींकै साहित्यकारहरुको प्रमुख हात रहने, काठमाण्डौंमा बसेका हामी जस्ता साहित्यकारहरुबाट गर्न सकिने सहयोग गरिरहने प्रतिबद्धता प्रकट गरेको थिएं । हामी अत्यन्त व्यग्रताका साथ प्रमुख अतिथिको मन्तब्य पर्खिरहेका थियौं । साहित्यकार श्री मोदनाथ प्रश्रित साहित्यकार मात्र नभएर एउटा चिन्तक, दार्शनिक र आयुर्वेदका ज्ञाता पनि हुनुहुन्छ । वहाँलाई केही समय दिउँ कि भनेर पनि मैले मेरो मन्तब्यलाई छोट्याएको थिएं ।
    सर्वप्रथम त अर्घाखाँचीको साहित्यको विकासमा विविध परिस्थिति र अर्घाखाँचीका साहित्यकारहरुबाट समय समयमा घचघच्याउने काम नभएको कारणले पनि अर्घाखाँचीको साहित्यिक गतिविधिमा कृयाशील हुन नसकेको कुरा प्रश्रितज्यूले स्वीकार्नु भयो । भविष्यमा कृयाशील हुने वातावरण बनाईदिन आग्रह पनि गर्नुभयो । प्रमुख अतिथिले साहित्य र पूर्वीय दर्शनका बारेमा विशेष रुपमा ३–४ वटा कुरा उल्लेख गर्नु भएको थियो जुन कुराले मलाई अत्यन्त प्रभाव पारेको थियो ।

    १) पृथ्वीमा गुरुत्वाकर्षण शक्ति छ भन्ने कुरा न्यूटनले पत्ता लगाएको भन्दा धेरै पहिले हाम्रो वेदमा लेखिएको छ भन्ने कुरा ।

    २) सबैभन्दा बढी अक्सीजन फाल्ने बोट विरुवा तुलसी हो, त्यसैले मृत्यु सैयाको अंतिम सास लिन गईरहेको मान्छेलाई तुलसीको मठ नजिक राख्ने चलन छ । अक्सिजन लिन सक्ने क्षमता भए ऊ बाँच्न पनि सक्छ होइन भने सजिलो किसिमले सास लिएर ऊ स्वर्ग जान्छ ।

    रुद्राक्ष, कुश र अन्य विभिन्न हाम्रा धार्मिक चाडवाडका बारेमा पनि सोध खोज गर्दै जाने हो भने धेरै बैज्ञानिक आधारहरु भेटिन सक्छन् र नेपालमा साँच्चै भन्ने हो भने आदिवासी भनेकै बाहुन क्षेत्रीहरु पनि हुन् भन्ने कुराले हामीलाई अध्ययन अनुसन्धान गर्न धेरै विषयहरु भएको हुँदा पूर्वीय संस्कृतिलाई कसरी संरक्षण गर्ने, कसरी अध्ययन अनुसन्धान गर्ने र कसरी प्रचार प्रसार गर्ने भन्ने कुरा ठूलो चूनौतिको रुपमा रहेको बारे विस्तृत विवरण दिइरहँदा सम्पूर्ण उपस्थित ब्यक्तिहरुमा उल्लास छाएको मैले प्रत्यक्ष अनुभव गरेको थिएं ।
    कार्यक्रम सकिउन्जेल झमक्क साँझ भईसकेको थियो । कार्यक्रम सफलतापूर्वक संम्पन्न हुन गयो । साँझ होटलमा पुगेर दिउँसोको कार्यक्रम बारे समीक्षा गरियो । प्रत्येक ब्यक्तिहरुले आ–आफना मनका उद्गारहरु पोख्नुभयो । समीक्षा पश्चात यस कार्यक्रमको सफलता÷असफलता बारे निम्न अनुसार वुँदागत रुपमा –

    – कार्यक्रम अत्यन्त सफल भएको ।
    – आगामी कार्यक्रमलाई ठूलो बल पुगेको ।
    – सुरुमा बोल्ने वक्ताहरुले केही बढी बोलिदिनु भएको कारण सम्पूर्ण कार्यक्रम पूरा हुँदा नहँुदै साँझ परेको ।
    – पद्य÷लयात्मक कविहरुका कविताहरुको केही कमी भएको ।
    – नारीहरुको सहभागितामा केही कमी भएको ।
    – दलित÷जनजातिको सहभागितामा कमी देखिएको ।
    – राजनीतिक पार्टीका प्रतिनिधिहरु र प्रशासकलाई निम्तो दिनुपर्ने र सहभागी गराईनुपर्ने ।

    कार्यक्रम पश्चात भाई सपना सुन्दरको नविनतम गजल संग्रहको छोटो भूमिका लेखें त्यो साँझ ।
    यसरी यस पटकको अर्घाखाँचीको साहित्यिक यात्रा सम्पन्न भयो र अर्को दिन म, वुँद राना र चन्द्रकान्त आचार्य ठाडा, पत्थरकोट, भेलाई हुँदै वुटवलमा वुँद रानाज्यूलाई विदा गरी काठमाण्डौं फकियौं । फर्कदा मेरा बुवा र आमालाई टिक्करमा भेट गर्न गयौं । हामीहरु सिधै संधिखर्क लागेको खबरले चिन्तित हुनुभएको रहेछ । वहाँहरुको भावनाले झण्डै सबैलाई रुवाउने वातावरण बन्दा बूँद रानाज्यू पनि भावुक हुनु भएछ ।
    बुवा आमालाई भेट्ने मन हुँदा हुँदै पनि निरन्तर रुपमा कार्य ब्यस्तताले गर्दा भेट गर्न सकिरहेको छैन । यो मेरो एउटा वाध्यता नै हो भने पनि हुन्छ । अर्घाखाँचीको अर्को कार्यक्रमको प्रतीक्षा गर्दै छु ।