• Lumbini 24 बिहिबार, माघ १५, २०७७
  • उनकाे नाममा याे प्रेमपत्र

    राजन राउत

     

    प्रिय शिला,

    आज पन्ध्रौँ स्मृति दिवस तिम्रो । तिमीले शहादत प्राप्त गरेको यो डेढ दशक बितिसक्दा पनि खै किन किन मेरो स्मृति बाट तिमी हराउन सकेकी छैनौ । आज फेरि पन्ध्र बर्ष पछि तिम्रो नाममा दोस्रो चिट्ठी लेखिरहँदा मनमा केही शान्ति मिलेको आभास गरिरहेको छु । यत्तिका वर्षपछि पनि जीवनको अन्तिम सास फेर्नुअघि ‘साथी साथ छुट्यो भन्दैमा हरेश कहिल्यै नखानु …।’ भन्दै तिमीले गुन्गुनाएको गीत मेरो मन मष्तिस्कमा गुञ्जि नै रहेको छ ।

    समयको अन्तरसँगै लेखिएका यी दुईवटा चिट्ठीमा कति धेरै अन्तर छ । तिमी यो चिट्ठी पढ्न सक्दैनौ अनि पहिलो पत्रमा जस्तै टिप्पणी गर्न सक्दैनौ । तै पनि यो चिट्ठीमा एउटा समानता भने अवश्य छ त्यो हो तिमीप्रतिको माया । आज पनि तिमीसँगै बिताएका केही मिठा पलहरुले मलाई उस्तै मिठो आनन्द दिइरहेका छन ।

    आज सहिद सप्ताहको छैटौँ दिन गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई गोली हानी मारिएको दिन तिम्रो बलिदानको किर्तिमान सँगै बोकेर आउँदा तिम्रो नाममा केही नलेखी बस्नै सकिनँ । प्रजातन्त्रको लागि गंगालाल श्रेष्ठको बलिदानजस्तै गणतन्त्रका लागि शिला श्रेष्ठको बलिदान उत्तिकै मुल्यवान छ । गणतन्त्र नेपालको एउटा चम्किलो तारा तिमी, हरेक माघ १५ मा तिम्रो स्मृति ताजा बनेर आइरहने छ ।

    गहिरो सम्झना छ मलाई । सिन्धुलीको दमारमा जब पहिलोपटक हामी भेट भएका थियौं । बच्चाजस्तै हामी माटोमा खेलेका थियौं । हाम्रा टिनएजर हातहरुले त्यो माटोमा सिराहाको बन्दिपुर ब्यारेकको आकृति हुबहु उतारेको थियो । आज सोह्र वर्ष पुग्न लागेछ । अझै कति ताजै छन् यादहरु । जब पूर्वि डिभिजनमा एउटै विभागमा तिमी पाँचौ ब्रिगेड र म छैठौं ब्रिगेडबाट छनौटमा पर्दा एउटा उत्साह छाएको थियो । नयाँ फर्मेशनमा तिमीसँगको सहकार्यले बिल्कुलै नयाँ उर्जा दिइरहेको थियो । जब सेक्युरिटी बटालियनको टुकडी मुभ हुन्थ्यो, तब तिमी मेरै अघि पछि हुन्थ्यौ । कहिले टुकडीको अघि अघि त कहिले पछि पछि । एक अर्कामा लडाइँका अनुभूतिहरु सेयर गर्दै हिँडेका ती दिनहहरु सम्झेर आनन्दित हुन्छु । विशेष जिल्लाका तिमीसँगका यात्राहरु अति विशेष लाग्छ । कहिलेकाहीँ तिमीसँगका यादहरु बोकेर ती हिमाली बस्तिमा जाउँ जाउँजस्तो लाग्छ । जहाँ तिम्रा र मेरा पाइलाहरु अघि पछि भेटिउन् ।

    ए, अनि तिमीलाई मेरो राइटिङ्ग कति मन पर्थ्यो है । तिम्रो डायरीमा मेरा अक्षरहरु आकर्षक लाग्थे तिमीलाई । पटक पटक तिमी मेरो झोलामा आफ्नो डायरी सुटुक्क राखिदिन्थ्यौ । अझै पनि तिम्रो डायरी मेरो झोलामा छ कि जस्तो लागिरहन्छ । विभिन्न कला र साहित्यको त्यो डायरी त्यो हिमालको काखमा शायद अब भेटिने छैन ।

    हाम्रो त्यो मिठो सहकार्यमा डाह गर्नेहरु पनि त थिए । तिनीहरु हामीलाई हरसम्भव अलग्याउन चाहन्थे । एकदिन तिमी त्यसको शिकार भयौ । र त तिम्रो व्यवहारमा कहिल्यै नदेखिएको परिवर्तन एक्कासी देखिएको थियो । तिमी धेरै पर एकान्तमा एक्लै टोलाइरहेकी थियौ । खै के पीडा थियो तिमीलाई त्यस दिन बताइनौ । खासै बोलिनौ पनि । कुनै दिन खुशी भएको बेला सोध्ने मन थियो । तर त्यो दिन आएन ।

    त्यो साँझ तिम्रो नाममा लेखेको पहिलो पत्र तिमीलाई दिनुअघि म पढेर साथी संयोगलाई सुनाउँदै थिएँ । झण्डै आधा पढिसक्दा एक्कासी तिमी हाम्रो कोठामा छिर्यौ । मैले त्यो चिट्ठी तिम्रो हातमा अपर्झट थमाएँ । तिमी बोकेर बाहिर निस्कियौ । निकै बेरपछि मलाई बोलायौ । त्यो चिसो जुनेली साँझमा तुषारोले खुल्ला आकाशमुनि सेतै बनाइसकेको थियो । नजिकै सेतै हिमाली श्रृंखला हामीलाई नै चियाइरहेका थिए । तिमी त बर्को ओढेर पहिल्यै बसिसकेकी थियौ । तर म भर्खर सिरक छोडेर आएको एकसरो चिसो सिरेटोको पहिल्यै सामना गरेँ मैले । जब म तिम्रो नजिकै आज्ञाकारी भएर बसेँ, तिमीले मेरो एक एक गुनासोको सम्बोधन गर्दै गयौ । कतै तिम्रो आफ्नै गुनासा हुन्थे त कतै टिप्पणी । तर यो तिम्रो नाममा लेखेको दोस्रो पत्रमा तिमीप्रति मेरो कुनै गुनासो छैन न त तिमी नै यो पत्रमा टिप्पणी गर्न सक्छौ । मात्र यसमा तिमीप्रतिको असीम माया पोखिएको छ ।

    तिमी आकाशबाट बर्षिएका बमहरु छल्दाछल्दै घाइते भयौ । तिम्रो घाइते शरिरले वरिपरि साथ दिने साथीहरु नभेट्दा खै कस्तो महसुस गर्यो होला ?  त्यसबेला तिमीलाई कति मानसिक पीडा थपियो होला ? सम्झेर कतिपटक ऐठन हुन्छ मलाई ।

    थाहा छ तिमीलाई, तिम्रो त्यो पीडादायी क्षण सम्झेर मेरो शारिरिक सहनशीलतामा कति धेरै बृद्धि भएको छ ? डिभिजनको सैनिक तालिममा प्रथम हुँदा त्यसको श्रेय मैले तिमीलाई दिएको थिएँ । सैनिक तालिमका कठिन शारिरिक अभ्यासहरुमा म तिम्रो पीडा सम्झेर दाह्रा किटेर सहन्थेँ । अनि मेरो सबै पीडा फिक्का भएर जान्थ्यो । नेपाली सैनिक एकेडेमीबाट शारिरिक सहनशीलता पुरस्कार लिँदा पनि त्यसको श्रेय तिमीलाई नै दिएको थिएँ । त्यो सहनशीलता तिम्रो पीडाबाट जन्मिएको थियो । जीवनका हरेक कठिनाइहरुमा तिमी आउँछौ अनि मलाई सफलतातिर डोर्याउँछौ । त्यो सफलताको खुशीमा कसरी बिर्सन सक्छु म तिमीलाई ?

    तिमीलाई सम्झँदा मात्र पनि कति उर्जा प्राप्त हुन्छ । तिमीसँगको छोटो सहकार्यले मलाई जीवन बदल्न सक्ने सौभाग्य प्राप्त भयो । शायद अर्को जुनिको विश्वास गर्ने हुँदो हुँ त लाखौं प्रार्थना गर्नेथिएँ केवल तिमीलाई पाउन । त्यो जुनिभर तिमीलाई सेयर गर्न पुग्ने अनुभवका चाङ छन् मसँग ।

    लेखक

    तिम्रो वियोगमा आँशु बगाइरहँदा मेरी श्रीमतीमा त्यसबेला मलाई तिम्रो झझल्को आउँथ्यो । आजभोली म छोरीको अनुहारमा तिमीलाई देख्छु । हरेक वर्ष माघ १६ सहिद दिवस तिम्रो ताजा सम्झनासँगै छोरीको जन्मदिन बोकेर आउँछ । र त छोरीको अनुहारमा तिमी प्रतिबिम्बित हुन्छौ । जहाँ जहाँ जान्छु म त्यहाँ त्यहाँ मलाई तिम्रो छाँयाले पछ्याइरहेको आभाष हुन्छ । कहिले श्रीमतीको रुपमा त कहिले छोरीको रुपमा । शारिरिक आकर्षणभन्दा टाढाको त्यो माया मर्दैन रहेछ शरिरसँगै । जब एक्लो महशुस गर्छु म त्यसबेला तिमीसँगका मिठा पलहरु सम्झेर आनन्दित हुन्छु । तिम्रो कल्पनामा डुबेर मलाई बाँच्नुको पनि बेग्लै मज्जा छ ।

    गणतन्त्र आएको चौध वर्ष बितिसक्दा तिम्रा सपना अझै अधुरा छन् । तिम्रो बलिदानको गाथामाथि पटक पटक आक्रमण भए पनि इतिहास ज्यूँदो छ यो गणतन्त्र तिमीप्रति ऋणी छ । हजारौ शहीदहरुको प्रसव वेदनाबाट जन्मिएको गणतन्त्रले आकाशबाट बर्षिएका बमसँग संघर्ष गर्दै अङ्गभङ्ग भएर जंगलमा ब्लिडिङ्ग रोक्न नसकी एक्लै छट्पटाएको तिम्रो पीडा कहिले बुझ्ला ? तिमीले चुमेको बलिदानको त्यो शिखरको उचाई कहिले महशुस गर्ला ?

    दुनियाले जेसुकै भनुन् मलाई कुनै परवाह छैन । मनैदेखि मन पराएकी सुन्दरी तिमीलाई हरेक वर्ष भइरहेका सुन्दरी प्रतियोगितामा तुलना गर्छु । मभित्रको जज तिम्रो सुन्दरताअघि पानी पानी हुन्छ । सदाबहार सुन्दरी तिमी यो युगमा फुलेकी उत्कृष्ट फूल हौ । तिम्रो सुगन्ध युगौंसम्म आइरहनेछ ।

     

    हार्दिक श्रद्धासुमन शिला

    लभ यु सो मच फरएभर ।