• Lumbini 24 बिहिबार, फाल्गुन १३, २०७७
  • नेपाल मगर संघले स्थापना दिवस मनाउने

    अर्घाखाँची ।

    नेपाल मगर संघले आफ्नो ३९औँ स्थापना दिवस देशैभर मनाउने भएको छ । यही क्रममा अर्घाखाँची जिल्लामा पनि यही फागुन १५ गते सो दिवस मनाइने भएको हो ।

    नेपाल मगर संघ, जिल्ला समन्वय समिति अर्घाखाँचीकाअनुसार यसपटकको मगर स्थापना दिवस जिल्लाको उत्तरी भेगमा रहेको मालारानी गाउँपालिकामा आयोजना गरिएको छ । संघको जिल्ला समन्वय समिति र जिल्ला सम्पर्क समितिको आयोजनामा हुन लागेको कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तिमगर प्रमुख अतिथिका रुपमा रहनेछिन् भने संघका केन्द्रिय समिति संगठन सचिव जगत बहादुर रेश्मीमगरको विशिष्ट आतिथ्यता रहने बताइएको छ ।

    मालारानी गाउँपालिकाको सिद्धार्थ माध्यमिक विद्यालयको प्राँगणमा सम्पन्न हुने स्थापना दिवस कार्यक्रममा लोकगायक खर्क बहादुर बुढामगर लगायतका कलाकारले विविध सांस्कृतिक कार्यक्रम पनि गर्ने संघका जिल्ला अध्यक्ष नेत्र थापामगरले बताएका छन् ।

    यस दिवसलाई मगर एकता दिवस पनि भन्ने गरिएको छ ।