• Lumbini 24 आइतवार, फाल्गुन १६, २०७७
  • मुर्छित सपनाहरू

    तिलक राज

     

    किन छन् तिम्रा मुर्छित सपनाहरू

    तिमीले कहिल्यै बुझ्न सकेनौ

    किनकी दुःखको रिङ्गमा

    तिमी एक्लोलाई नदेखिने प्रतिष्पर्धी बनेर

    अन्धाधुन्ध मुक्का बर्साउनेहरू

    नयनका डिल भत्काउँदै

    तिम्रो आँशुको व्यापार गर्नेहरू

    तिमीलाई बलियो बनाउने भन्दै

    तिम्रो मुटुमा किला ठोक्नेहरू

    कोही होइनन् आखिर

    कोही हुन् तिम्रा आफ्नाहरू

    कोही हुन् तिमीले ठानेका मित्रहरू

    कोही हुन् धर्मको खोलमा पहेँलिएकाहरू

    केही हुन् शिक्षित अशिक्षितहरू

    र बाँकी हुन् जनमतको गहुँतले चोखिएका तिकडमविद् शकुनीहरू

     

    सिसिफसको ढुङ्गाजस्तो

    चलिरहने यो नियती फेर्न

    कहिले चिन्छौ, तिमीले तिमीलाई

    कहिले गर्छौ, प्रेम आफूलाई

    कहिले गर्छौ, विश्वास आफ्नै हत्केलालाई

    र लाग्छौ कहिलेदेखि

    मुर्छित सपनाका कोपिलाहरू आफैले फुलाउनलाई ?