• admin आइतवार, जेष्ठ २३, २०७८
  • बच्चालाई बचत गर्न कसरी सिकाउने ?

    तिलकराज चुँदाली

    बच्चाहरु नयाँ कुरा सिक्न उत्सुक हुन्छन भने उनीहरुको सिक्न र सम्झनसक्ने क्षमता पनि अद्भुत हुन्छ । यसैले उनीहरुलाई सही कुरा, उपयुक्त विधिको प्रयोग गर्दै रोचक ढङ्गबाट सिकाउनु हामी अभिभावक, शिक्षक र समाजका अन्य सदस्यको दायित्व हुन आउँछ । बच्चालाई सिकाउने क्रममा खासगरी अभिभावक बच्चासँग बच्चा नै बन्न सक्नुपर्छ एकातर्फ भने अर्कोतर्फ बच्चाको लागि समय व्यवस्थापन गर्न सक्नुपर्छ । यसरी व्यवस्थापन गरेको समयमा बच्चालाई हरेकदिन केही न केही जीवनउपयोगी कुराहरु सिकाउनुपर्ने हुन्छ । बच्चालाई सानै उमेरबाट सिकाउनुपर्ने विभिन्न कुराहरुमध्ये एउटा महत्वपुर्ण कुरा हो– वचत गर्ने बानीको विकास ।

    आम्दानीबाट आवश्यक खर्च कटाई बाँकी रहेको रकम बचत हो । खर्चको तुलनामा आम्दानी बढाएर वा खर्चमध्ये सबैभन्दा कम महत्वका वा अनावश्यक खर्चलाई नियन्त्रण गरेर बचत गर्न सकिन्छ । बचत सानो रकमबाटै गर्न सकिन्छ तर बचत लामो समयको लागि गर्दा राम्रो हुन्छ । बचतबाट आउने ब्याजको पूँजीकरण र यसको चक्रीयकरणले भविष्यमा हामीले सोचेभन्दा धेरैगुणा राम्रो प्रतिफल दिन्छ ।
    उदाहरणको रुपमा रोशनी रानाले आफ्नी छोरी जन्मिदा र अन्नप्रासनमा जम्मा भएको रकम ५ हजार १०५ रुपैयाँ ब्याज आउनेगरी कुनै सहकारीमा जम्मा गरिदिनुभयो र हरेक महिना ५ सय नियमित बचत पनि जम्मा गरिदिनुभयो । यो रकम हरेक ३ महिनामा पूँजीकरण हुँदैगयो । अनि छोरी २१ वर्षकी हुँदा उच्चशिक्षाको लागि त्यो रकम प्रयोग गर्न खोज्दा, थाहा छ त्यो रकम कति भएको रहेछ ?
    उहाँको छोरीको खातामा ४,१४,८३१ रुपैंया जम्मा भएको रहेछ । यसमध्ये १,२५,०० उहाँको बचत हो भने २,८९,८३१ त ब्याजमात्रै हो । यदि उहाँले मासिक १ हजार बचत गर्नुभएको भए त्यो रकम ७,९३,६१४ मा पुग्थ्यो भने २ हजार जम्मा गर्नुभएको भए १५,५१,१८१ पुग्नेथियो । त्यो रकम दुखसुख गरेर ५ हजार पु¥याउनुभएको भए त झन ३८,२३,८८२ पुग्नेथियो । हेर्नुस त नियमित बचतको ताकत ! अझ लामो अवधिको बचतमा ब्याजदर बढी हुने सम्भावना भयो भने वा खाता खोल्दा शुरुमा राखेको ५ हजारभन्दा बढी राखेको भए झन त्यो रकम कति होला ? यो रकम हामीले सोचेभन्दा निकै ठुलो रकम हुनसक्छ । अल्बर्ट आइन्सटाईनले त्यसै चक्रीय ब्याजलाई संसारको आठौँ आश्चर्य भनेका होइनन् । यसैले बचतले भविष्यमा नसोचेको नतिजा दिने हुँदा हामीले र हाम्रा बच्चाले बचत गर्न सिक्नैपर्ने हुन्छ । तसर्थ बच्चालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनुपर्ने हुन्छ । हामी सचेत भयौं भने हामीले बच्चालाई बचत गर्ने बानीको विकास सजिलै गराउन सक्छौं ।
    करिब ४ वर्षको उमेरबाट हामी बच्चालाई बचत गर्न सिकाउन सक्छौं । यसको लागि बच्चालाई सामान किन्न आफूसँगै लैजानुहोस । मोलमोलाई गर्नुहोस र मोलमोलाईबाट पैसा बचेको कुरा उनीहरुलाई बताउनुहोस । अनावश्यक खानेकुरा किन्दा एकातर्फ स्वास्थ्य बिग्रन्छ भने अर्कोतर्फ खर्च बढ्छ भन्ने कुरा बताउनुहोस । जिद्दी गरेर बच्चाले किन्न लगाएको खेलौना १÷२ दिनमै बिग्रँदा कसरी पैसा घट्यो भनेर नरिसाईकन सम्झाउनुहोस । वच्चालाई सहकारी वा वैंकमा खोलेको खातावारे जानकारी दिनुहोस । पासबुक, चेक, डिपोजिट स्लिपको बारेमा बुझिनेगरी बताउनुहोस । चाडपर्वमा जम्मा भएको पैसा बच्चालाई नै संलग्न गराएर बचत गराउनुहोस । बढी व्यापार हुँदा वा तलब बुझ्दा केही रकम बच्चालाई दिनुहोस र जम्मा गर्न लगाउनुहोस । बेलाबेला उनीहरुको जम्मा बचत कति भयो र ब्याज कति आयो भनेर बताउनुहोस । जम्मा गरेकोभन्दा अतिरिक्त वा थप रकम ब्याज हो भन्दै ब्याजलाई अझ जोड दिनुहोस । उनीहरुको ब्याज रकम यति बराबर भयो भनेर आफूसँग भएका पैसाहरु देखाएर नै भन्नुहोस । यति ठुलो रकम जम्मा गरिसकेको भनेर बच्चालाई बेलाबेला बधाई दिनुहोस । यसको साथै स्कुलमा पनि बचतसम्बन्धी बैंकमा कार्यरत व्यक्तिहरु बोलाएर सरल तरिकाले बचतसम्बन्धी धारणा दिने व्यवस्था मिलाउन विध्यालयलाई अनुरोध गर्नुहोस । बच्चाको नजिकको साथीलाई पनि बचतमा सरिक गराउन अभिभावकलाई अनुरोध गर्नुहोस । आवश्यकपरे आफूले सक्ने मद्दत पनि गर्नुहोस । बच्चाको उमेर बढ्दै जाँदा वित्तीय साक्षरतासम्बन्धी ज्ञान बढाउदै लैजानुहोस ।

    अन्त्यमा, हाम्रो बढ्दो उमेरसँगै बढ्दैजाने खर्चको लागि उमेर छँदै हामीले बचत गर्ने बानी बसाल्ने र बच्चाहरुलाई पनि बचत गर्न सिकाउने गर्नाले भविष्यमा आउने ठुलाठुला खर्चको व्यवस्थापन हुन्छ र आर्थिक स्वतन्त्रता प्राप्त हुन्छ । त्यसैगरी यस्तो बचतले अझ ठुला आर्थिक लाभ लिने माध्यम ‘लगानी’ को लागि पनि आधार तयार गर्दछ ।

    लेखक