• Lumbini 24 बुधबार, साउन २०, २०७८
  • भेडेटारको पिक्निक

    उपेन्द्र सुब्बा

     

    हजुरको भक्तिप्रताप……

    प्रचण्ड गर्मी छ भानुचोकमा

    सडक तातेको छ, नारा जुलुसले

    उफ !

    घाँटी सुकेर हैरान छ, पानी छैन ।

    चिसो वियरले तालु छम्काउँदै

    रामायणले मुख हम्काउँदै

    कति बस्नु हो यो चोकमा ?

    छोड्दिनोस बाजे भक्ति शक्ति !

    आज जाउँ पिक्निक , माथि ……

    भेडेटारमा ,यतिबेला कति शितल होला …?

    आज,विनलादेनको मुटुसँग

    जर्जबुसको कलेजो भुटेको अलिकति

    सद्दामको कान पोलेर

    अकबरे खुर्सानीमा मोलेको अलिकति

    – मार्क्सको अण्डा

    – हिटलरको गिदी,जिब्रो

    – ब्रिट्नीको स्पेयरको मुत,एक बोतल

    बाजेलाई बिशेष-

    पक्चानाको आलो दूध,तात्तातो ,एक गिलास

    भेडेटारमा,पिक्निक कति रमाईलो होला…?

    – यी मोटरको प्वँ ….प्वँ

    – यी रिक्साको,साईकिलहरुको किरिङरिङ……

    – यी खलासी भाईहरुको उपद्रो चिच्याई ….

    दिक्क लाग्दैन ?

    जाउँ,-

    चाल्सटावरको माथिल्लो छतमा बसेर

    तल मधेसको निलो फाँटहरु हेर्नु

    माथी लहरै जोल्ठेर बसेका

    पहाड,हिमालहरु हेर्नु

    अल्सी लाग्यो भने,

    तरुनीको फिला सिरानी लाएर

    माथी आकाशको लाज हेर्नु

    र , खुसुक्क तरुनीको कानमा भन्नु

    -“हेर त ,आकाशले कट्तु नलाएको ….”

    साँच्ची बाजे !

    भेडेटारमा पिक्निज कति रमाईलो होला …?

    एकै छिनलाई मागेको साथीको भटभटे

    पछाडि चढाएर आफ्नो नपर्ने भाउजू

    घ्याच्च ….. घ्याच्च …. घरीघरी ब्रेक !

    बारबार हम्प्स नहुदाको रिस,

    बाजे, भेडेटारको ओरालो कति रमाईलो होला …?

    हजुरको भक्तिप्रताप

    प्रचण्ड गर्मी भानुचोकमा

    सडकको अलकत्रा पक्लिएर बग्लाजस्तो

    उफ !

    भेडेटारमा, यतिखेर कति शीतल होला ….?