• Lumbini 24 बिहिबार, साउन २१, २०७८
  • म सत्ते ! तिमीलाई नै भेट्न आएँ

    निर्मोही व्यास

     

    म प्यासी सदाको, तिमी हौ पँधेरो

    जहाँ पाउ तिम्रा त्यहीँ स्वर्ग मेरो

    तिमीलाइ पाए जुनी धन्य–धन्य

    नपाए छ संसार नै शून्य–शून्य

    सजाएर छातीभरी विम्ब तिम्रो

    र आँखाभरी स्वप्न साँची सुनौलो

    बगी भावनामा, उडी कल्पनामा

    अहोरात्र तिम्रै डुबी सम्झनामा

    म सारङ्गि यो प्यारको रेट्न आएँ

    म सत्ते ! तिमीलाइ नै भेट्न आएँ

    म जाऊँ जता, देख्छु तिम्रै मुहार

    गरूँ प्रीतिको सिन्धुमा वारपार

    छ मेरो यही एउटै मात्र स्वप्न

    म चाहन्न अर्को कुनै मन्त्र जप्न

    उज्यालो छ धर्ती तिमी झुल्किनाले

    छ यो सृष्टि प्यारो तिमी मुस्किनाले

    जहाँ दिव्य सौन्दर्य तिम्रो पिएर

    खुसी छर्दछन् फूलले गम्किएर

    म तिम्रै छहारीमुनी लेट्न आएँ

    म सत्ते ! तिमीलाइ नै भेट्न आएँ

    ००

    कुनै भन्दछन्— प्यारमा हार हुन्न

    कुनै भन्दछन्— जीतको सार हुन्न

    नपाऊँ म कैल्यै कुनै जीत–हार

    तिमीमै डुबुल्की रहूँ बारबार

    चढाऊँ अरू अर्घ्य के अर्चनामा ?

    स्वयम् अर्पिएको छु आराधनामा

    बनी निर्झरी छङ्छङाईरहेछु

    महासिन्धुमा मिल्न धाईरहेछु

    युगौँदेखिको तिर्सना मेट्न आएँ

    म सत्ते ! तिमीलाइ नै भेट्न आएँ

    ०००

    (“बोधिवृक्षको छायामा”, कविता—सङ्ग्रह, २०६९, पृ.२५—२६)