• Lumbini 24 शुक्रबार, साउन २२, २०७८
  • परदेशबाट

     

    नदीश

     

    बुढ्यौलीले सयौँ मुज्जा पारेको बाबाको अनुहारमा

    छन् केही खुसीका आकृतीहरु,

    जस्तो, विदेश पुगेर मनग्गे कमाउदैछ छोरो

    जोडिन्छ चारआना जग्गा

    र बसिन्छ शानसँग राजधानीमा ।

    छन् केही दुखका नक्साहरु पनि

    जस्तो, कहिलै नफर्केला कि छोरो ?

    हराउला कि उतै परदेशी रमझममा

    चटक्कै बिर्सेर बाउ आमा र देश ।

    बिरामी छिन् आमा

    बिलौना गर्छिन् –

    ‘बाबु यता भइस् भने त आधा रोग यसै निको हुन्थ्यो

    अघाइन्जेल कहिले बस्न पाइन तँसँग ‘

    म छोरो सम्झाउँछु –

    ‘यता छु र त आधा रोग निको भैरहेछ आमा

    राम्रो अस्पतालमा उपचार गर्नू सब ठीक हुन्छ ।’

    म त यस्तो देश आइपुगेछु

    छोडेर बुढा बा आमा एक्लै कतै अपार्टमेन्टमा

    छोरा, शानसँग बसिरहेछ घर, श्रीमती छोराछोरीसँग

    र भन्छ – ‘ आइ एम लिभिङ् विथ माइ फेमिली’

    जिन्दगीलाइ सबैभन्दा धेरै जीन्दगीकै पीर लाग्दोरैछ !

    छोडेर हजारौँ सपनाहरु उतै

    आइपुगेको छु म

    हजारौँ मान्छेहरुको सपनाको देश

    र घोत्लिहरेछु

    कसरी निलिरहेछ हजारौँ सम्भावनाहरु

    यो निर्जीब देशले

    कसरी फस्दोरैछन् वाध्यताहरु

    जिन्दगीको दलदलमा

    निमेशभरमै कसरी बदलिँदो रैछ परिभाषा सपनाको

    जिन्दगीमा सबैभन्दा निरश आफ्नै जिन्दगी लाग्दोरैछ !

    काम-कोठा, कोठा-काम…

    चुपचाप बसेर अपार्टमेन्टभित्र

    सप्ताहन्तमा हिसाब गर्नु छ आम्दानी खर्च

    सोच्नु एउटै छ

    कति बर्ष मोनोटोनस् जिउनुपर्ने हो

    यो रोबर्ट जिन्दगी

    एउटा आँगन,

    एउटा छत,

    र बाकीँ केही आधारभूत अभिलाषाहरुको निम्ति

    फर्केर कहिले उत्खनन् गर्नु

    ती पुराना सपनाहरु

    सुरु गरेर शुन्यबाट जिन्दगीको मध्यान्हलाई

    कहिले पुग्नु मक्किएका सपनाहरुको उचाई

    र गाउनु जिन्दगीको रोमाञ्चक गीत

    आफ्नै आँगनमा

    उफ् जिन्दगी,

    चिन्ता मात्रै गर्छस् तँ !

    बूढो भैसकिछस् ।

    कस्तो लाग्यो ?