• Lumbini 24 शनिबार, साउन २३, २०७८
  • काङ्ग्रेस र माले, कोभन्दा को कम

     

    लेखक

    अर्घाखाँचीमा मुख्यगरी काङ्ग्रेस र मालेबीच बेला–बेलामा विभिन्न झडपहरू हुने गरेको इतिहास छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४२ सालमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आफूले गर्नुपर्ने आमसभामा अवरोध गरिएको बारेमा आत्मकथात्मक पुस्तक ‘आफ्नै कुरा’ मा सजीव प्रकारले वर्णन गरेका छन् । त्यतिबेलाको परिस्थितिका बारेमा उनको बयान यस्तो छ,
    ‘२०४२ साल ताका किशुनजी र गणेशमानजीले मुलुकभर पार्टीको सम्पूर्ण सङ्गठन भङ्ग गरिदिनुभयो । त्यतिबेला म जसरी भए पनि सङ्गठन बनाउनुपर्छ भनेर पूरै मुलुक घुमेँ । पहाड, हिमाल र तराईका कुना–कुनासम्म पुगेर साथीहरूसँग भेटेँ । जब म गुल्मी पुगेँ तब राति सुतेका बेला केही कम्युनिष्टहरूले ‘दुई जिल्ला (गुल्मी र अर्घाखाँची) छुट्याउने खज्र्याङखोला तरेर अर्घाखाँची आयौ भने रगतको खोलो बग्छ, हामी सखाप पारिदिन्छौँ’ भनेछन् । तैपनि हामी गयौँ तर त्यहाँ त कोही बास दिन तयारै भएनन् । एउटा चिया पसलमा चिया पिउँदै थियौँ । मैले सोधेँ, ‘हामीलाई बास दिनुहुन्छ ?’ उनले भने, ‘दिन हुन्थ्यो तर बस्ने राम्रो प्रबन्ध छैन ।’

    पुरानो सानो छाप्रो थियो । हामी यत्तिकै बसेका थियौँ । एकजना साथी आएर भने, ‘मेरो घर छ, त्यहाँ कोही बस्दैन । त्यहीँ बसे हुन्न ?’ हामी त्यहीँ बस्न गयौँ । भोलि अर्घाखाँची (सन्धिखर्क) मा कार्यक्रम थियो ।
    साथीहरूले अगिल्लो दिन कार्यक्रम निश्चित भएको स्थानभन्दा अन्यत्रै कार्यक्रम सारेको खबर गरे । हिंजै निधो भएको स्थानमा कम मान्छे आउने भएकाले कार्यक्रम सारिएको बताए । पछि पो थाहा भयो, वास्तवमा कम्युनिष्टको धम्कीका कारण कार्यक्रम सारिएको रहेछ । म विस्तरामा पल्टिएको थिएँ । हाम्रा साथीहरूको अर्को समूह आइपुग्यो । एक जनाले भने, ‘गिरिजाबाबु, मान्छे कम आउने भएका कारण कार्यक्रम सारिएको होइन । कम्युनिष्टहरूले त्यहाँ गएमा रगतको खोला बग्छ भन्ने धम्की दिएका कारणले सारिएको हो । म त्यही ठाउँबाट आएको । तपाईंलाई साथीहरूले कुरा लुकाएका छन् ।’

    मैले भनेँ, ‘ल साथीहरूलाई बोलाऊ । म त्यही ठाउँमा जान्छु ।’ म जाने भनेपछि सबैले जानैप¥यो । त्यहाँ नुहाउनका लागि नदीमा जानुपथ्र्यो । बिहान म नदीमा नुहाउन जाँदा बाटोमा एउटा ठूलो पाँच तले घर देखेँ र साथीहरूलाई सोधेँ, ‘यो कसको घर हो ?’ उनीहरूले भने, ‘हामीलाई नदी तरेर गए रगतको खोलो बग्छ भनेर धम्की दिने कम्युनिष्ट नेताको घर यही हो ।’ उसले भन्यो, ‘मूर्ति बेचेर कमाएको हो ।’
    मलाई लाग्यो, समस्याको निकास आउने भयो । नुहाएर फर्किन लाग्दा तिनै कम्युनिष्ट नेता आफ्ना साथीहरूका साथ फर्किँदै थिए । हाम्रा साथीहरू उनीहरूले झगडा गर्छन् कि भनेर डराइरहेका थिए । उनीहरूसँग आमनेसामने भएपछि मैले भनेँ, ‘त्यो पाँच तले घर कसको हो ?’ सबैले कम्युनिष्ट नेतालाई देखाउँदै ‘ऊ उहाँको हो’ भने । अनि मैले भनेँ, ‘के हो ? मूर्ति बेचेर पाँच तले घर बनाइरहनु भएको छ ? तपाईं मसँग के कुरा गर्नुहुन्छ ? कुन नैतिकताको आधारमा तपाईं रगतको खोलो बगाउने कुरा गर्नुहुन्छ ? ल त कसरी खुनको नदी बगाउनुहुन्छ, हेरौँ ? म पनि रगतको खोलो कसरी बग्छ हेर्न बसेको छु ।’
    त्यसपछि उसका कार्यकर्तातिर फर्केर मैले भनेँ, ‘हेर्नुस्, मूर्ति चोरेर एक त आफूले घर बनाउनु भएको छ । फेरि रगतको खोलो बगाउने कुरा गर्नुहुन्छ । आफ्नो नेतालाई सोध्नुस् त, उहाँले त्यत्रो घर कसरी बनाउनु भयो ? जवाफ छ उहाँसँग ?’

    मैले यति मात्र के भन्न पाएको थिएँ, उनी आफ्नै साथीहरूको माझबाट लुकेर भागे । पछि एक्लै मसँग भेट्न आएका थिए । उनले ‘साथीहरूको अगाडि त्यसो नभनिदिएको भए हुन्थ्यो’ भने । मैले भनेँ, ‘तपाईंहरूले नै त हो रगतको खोलो बगाउने भनेको । अनि त मैले यो सब भन्नुप¥यो ।’
    अनि ऊ फर्कियो । हामीले पहिला निश्चित भएकै स्थानमा सभा ग¥यौँ । साँच्चै त्यो रातभर कुन बेला आक्रमण हुने हो भनेर म सुत्दै सुतिनँ । पछि साथीहरूले भने, ‘तपाईं आएर हाम्रो हिम्मत बढ्यो । कसरी तपाइँले त्यो घर कसको भनेर सोध्नु भएको ?’
    (कोइराला ः आफ्नै कुरा, पृ. १३६, १३७)

     

    नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता भएपछिको समयमा अर्घाखाँचीमा विभिन्न समयमा मदन भण्डारी, जीवराज आश्रित र केपी शर्मा ओलीजस्ता नेताहरूले आएर प्रशिक्षण दिएका थिए । २०४५ सालको चैत महिनामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणका लागि केपी शर्मा ओली अर्घाखाँची आएका थिए भने भण्डारी र आश्रित २०४८ सालको जेठ महिनामा यहाँ आएका थिए । त्यसैगरी काङ्ग्रेस नेता गिरिजाप्रसाद कोइराला पनि पटक–पटक अर्घाखाँची आएको देखिन्छ ।

     (नेपालकाे राजनीतिमा अर्घाखाँची : विद्राेह, हिंसा र आन्दाेलनकाे इतिहास, पुस्तककाे एक अंश)