• Lumbini 24 बिहिबार, साउन २८, २०७८
  • पुरानो मानिस (कविता)

    • श्रवण मुकारूङ
    यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
    सबभन्दा नयाँ कुरा चाहिन्छ ।
    तिमीसित अब
    के छ त्यस्तो कुरा…?
    सुधारिएको प्रजातन्त्र ?
    गणतन्त्र ?
    अत्याधुनिक बन्दुक
    ट्याङ्क, मिसाइल, रकेटलन्चर
    वा जैविक हतियार ?
    अथवा अन्तर्राष्ट्रिय गीत…?
    घर जलाइदियौ
    घरसँगै उसका बालबच्चाहरू जले
    श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले
    उसले लगाएको भाङ्ग्रा, भोटो र गादो जल्यो
    बक्खु, धोती र हाकुपटासी जल्यो
    तर थाहा छ, ऊ किन जलेन… ?
    उसलाई आतङ्ककारी भन्यौ
    सरकारी गुप्तचर भन्यौ
    तिम्रो चरम यातनाले
    उसका विनयी हातहरू छिनालिए
    निर्दोष आँखा र जिब्रो थुतिए
    घाँटी र खुट्टाहरू गिँडिए
    रगतको अाहालमा चल्मलाइरहेकाे
    उसको पृथिवीजस्तो मुटुलाई सङ्गिनले उनेर
    विजयीको हुङ्कार गर्याै
    तर थाहा छ, ऊ किन मरेन… ?
    यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
    सबभन्दा नयाँ कुरा चाहिन्छ ।
    तिमीसित अब
    के छ त्यस्तो कुरा…?
    भाषा ?
    धर्म ?
    जाति ?
    संस्कृति, सम्प्रदाय, राष्ट्रियता
    वा मानवअधिकार
    अथवा सुप्रिम अमेरिका… ?
    तिमीसित अब
    के छ बाँकी त्यस्तो कुरा ?
    जसले,
    यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ ।
    के तिमी,-
    खेतमा धानको गन्धलाई मार्न सक्छौ… ?
    के तिमी,-
    पहाडमा बतासको गन्धलाई मार्न सक्छौ… ?
    के तिमी,-
    समुद्रमा पानीको गन्धलाई मार्न सक्छौ… ?
    तिमीसित अब
    के छ त्यस्तो कुरा ?
    भन ! के छ… ?
    जसले,
    यस धरतीको पसिनाको गहुँगोरो गन्धलाई मार्न सक्छ ।
    (बिसे नगर्चीकाे बयान कविता संग्रहबाट)